Sabda Prabaha

विधा : नाटक चिसो चुल्हो (कर्णालीको पीडा, परम्परा र विद्रोहको बृहत् सामाजिक नाटक) ✍️.नबिन कुमार रोकाया (सम्पादक) सिंजा ५ जुम्ला लेखकको भनाइ: यो नाटक केवल एउटा गाउँको कथा होइन। यो कर्णालीका हजारौँ चिसा चुल्हाहरूको आवाज हो।यो भोकले रुँदै हुर्केका बालापनहरूको इतिहास हो।यो ती आमाहरूको पीडा हो। जसले आफ्ना छोराछोरीलाई भोकै सुताएको रात सम्झेर आज…

विधा : नाटक

चिसो चुल्हो
(कर्णालीको पीडा, परम्परा र विद्रोहको बृहत् सामाजिक नाटक)
✍️.नबिन कुमार रोकाया (सम्पादक

सिंजा ५ जुम्ला

लेखकको भनाइ:

यो नाटक केवल एउटा गाउँको कथा होइन। यो कर्णालीका हजारौँ चिसा चुल्हाहरूको आवाज हो।यो भोकले रुँदै हुर्केका बालापनहरूको इतिहास हो।यो ती आमाहरूको पीडा हो। जसले आफ्ना छोराछोरीलाई भोकै सुताएको रात सम्झेर आज पनि चुपचाप आँसु पुछ्छन्।

यो ती किशोरीहरूको कथा हो। जसलाई महिनावारी भएकै कारण गोठमा फालियो। यो ती बालकहरूको कथा हो। जसले किताबभन्दा पहिले डोको बोके।

यो नाटक प्रश्न हो। राज्यसँग, समाजसँग, र हामीसँग।

पात्र परिचय

मुख्य पात्रहरू

१. हर्के

(१४ वर्षको बालक। गरिबीले विद्यालय छोडेर मजदुरी गर्न बाध्य।)

२. जुना

(१५ वर्षीया किशोरी। छाउपडी प्रथाको सिकार।)

३. माइली

(हर्के र जुनाकी आमा। परम्परा र ममताबीच थिचिएकी।)

४. वीरबहादुर

(भारतबाट फर्कने पिता। गरिबीले थाकेको मान्छे।)

५. धामी

(गाउँको पुरानो सोचको प्रतिनिधि।)

६. शिक्षक

(परिवर्तन चाहने व्यक्ति।)

७. मुखिया

(सत्ताको घमण्ड बोकेको गाउँ नेता।)

८. गाउँलेहरू

(समाजको भीड।)

अंक – १

दृश्य – १

(मञ्च अन्धकार। चिसो हावाको आवाज। टाढाबाट कुकुर भुक्ने आवाज। बिस्तारै मधुरो प्रकाश बल्छ। एउटा गरिब घर। चुल्हो निभेको। खाली भाँडा।)

माइली – (खाली भाँडा हेर्दै) आज फेरि चुल्हो चिसै रह्यो…

हर्के – आमा… भोक लाग्यो…

माइली – भोलि तेरो बाबु आउला कि…

हर्के – हरेक साल त्यही भन्छौ आमा। (मौनता भएर)

जुना – (बाहिरबाट डराउँदै आउँछ) आमा… मलाई फेरि गोठमा पठाउँछन् ?

माइली – (आँखा झुकाएर) गाउँको रिती हो छोरी…

जुना – रीती मान्छेभन्दा ठूलो हुने ? (चिसो हावा चल्छ।)

दृश्य – २

(गाउँको चौतारो। बूढापाका आगो तापिरहेका।)

पहिलो गाउँले – यो साल पनि जुम्लाबाट धेरै मान्छे सुर्खेत झरेछन्

रे चामल खोज्दै।

दोस्रो गाउँले – हिउँले बाटो थुनेपछि के खान्थे त ?

तेस्रो गाउँले – दशैंमा मात्र भात पाक्ने घर पनि छन् अझै।

धामी – गरिबी भाग्य हो। देवता रिसाएपछि यस्तै हुन्छ।

(शिक्षक प्रवेश)

शिक्षक – देवता होइन, राज्य रिसाएको हो।

धामी – धेरै पढेपछि मान्छे धर्म भुल्छ।

शिक्षक – धर्मले बच्चालाई भोकै सुताउन सिकाउँछ ?

दृश्य – ३

(हर्के डोको बोकेर हिँडिरहेको। भारी बोकेको।)

हर्के – (कठै) म पनि पढ्न पाएको भए… कापी बोकेको हुन्थेँ…

आज डोको बोकिराछु।

(अरू मजदुर बालकहरू आउँछन्।)

पहिलो बालक – भारत जाने हो रे ?

दोस्रो बालक -यहाँ पेटले बस्न दिँदैन।

हर्के – हामी जन्मेकै किन हौँ ?

अंक – २

दृश्य – १

(छाउगोठ। अत्यन्त चिसो। जुना काँपिरहेकी।)

जुना – (रोइरहेकी) आमा… (बाहिर वर्षाको आवाज)

माइली – (टाढाबाट) छोरी… सहनू… गाउँलेले थाहा पाए मार्छन्।

जुना – म रोगी होइन आमा…

दृश्य – २

(गाउँ सभा)

मुखिया – छोरीले रीति मानिन भने गाउँ बिग्रिन्छ।

शिक्षक – गाउँ रीतिले होइन, चेतनाले बच्छ।

धामी – महिनावारी भएकी छोरी घर बस्यो भने देवता रिसाउँछन्।

शिक्षक – देवता कहिल्यै रिसाएनन्। रिसाएको त हाम्रो अन्धविश्वास हो।

दृश्य – ३

(बालविवाहको तयारी। मादल बजिरहेको। जुना रोइरहेकी।)

माइली – छोरी… गरिबको भाग्य यस्तै हो।

जुना – मेरो जीवन मेरो होइन ?

वीरबहादुर – (रुँदै) म बाउ भएर पनि केही गर्न सकिनँ…

अंक – ३

दृश्य – १

(रात। भीषण हावाहुरी। छाउगोठ। अचानक चिच्याहट)

जुना – आमा…! (मञ्च अन्धकार)

दृश्य – २

(बिहान। गाउँलेहरू भेला।)

पहिलो गाउँले – गोठमा जाडोले…

दोस्रो गाउँले – संसारमा रहिनन्… (माइली कराउँछिन्)

माइली – मेरो छोरीलाई देवताले होइन तिमीहरूकोले मार्यो !

दृश्य – ३

(हर्के आगो बालिरहेको।)

हर्के – आज यो गोठ जल्छ।

धामी – पाप लाग्छ !

हर्के – भोकभन्दा ठूलो पाप केही छैन ! (गोठमा आगो लाग्छ।)

गाउँलेहरू डराउँछन्।

शिक्षक – आज गोठ मात्र जलेको होइन डर जलेको हो।

अन्तिम दृश्य

(मञ्चमा केवल चिसो चुल्हो।)

माइली – (बिस्तारै चुल्हो छुँदै) यो घरमा आगो निभेन…

मान्छे निभे…

(हर्के आकाशतिर हेर्छ)

हर्के – कर्णाली कहिले न्यानो हुन्छ ?

समाप्त

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

Scroll to Top