Sabda Prabaha

Loading

कथा : जम्काउली

✍️शम्भु प्रकृति

चितवनको राप्ती नगरपालिकामा पर्ने एउटा गाउँ हो जम्काउली । खेतीपाती प्रशस्त हुने यस गाउँमा तरकारी खेती राम्रो हुने भएकोले कतै गाउँको नाम नै जम्काउली भएको त होइन ? प्रश्न अनुत्तरित छ। यहाँ काउलीको खेती बडो राम्रो हुन्छ। काठमाडौंमा बस्नेहरुपनि मधेसमा जग्गा जमिन जोड्ने र कहिलेकाही मधेस आवतजावत गर्नेगरेको पाइन्छ।


        उनी यसै गाउँकि थिइन् । बस्नलाई काठमाडौं बस्ने उनको परिवार उतै थियो। बोर्डिङमा पढेर पढाईमा अब्बल उनी केही कारण मैले पढाउने स्कुलमा पढेर सन्जोगले पढाउन आइपुगेकी थिइन् । नेपालमा राजदरबार हत्याकाण्ड हुनुभन्दा एघार दिन अगाडि मेरो उनीसँग मेरो परिचय भएको थियो। सानो कदकी आकर्षक ब्यक्तित्व गोरो अनुहार उनको बिशेषता थियो। झन्डै ३ महिनाको संसर्ग हुँदा धेरै कुरा प्रष्ट भयो। उनकी ठुल्दिदीले मलाई पढाएकी थिइन् भने उनी मेरो स्कुलमा सहकर्मी भइन् ।


        उनको घर मेरो घर नजिकै रहेछ भने हाम्रो स्कुल त झन् नजिक थियो । अनौठो लाग्यो । हाम्रो मित्रता निकै गाढा हुँदै थियो दश-एघार दिनमा । त्यहीबेला नेपालमा दरबार हत्याकाण्ड भयो । स्कुल नै १०-११ दिन बन्द भयो । स्कुल खुल्नेबित्तिकै दिबङ्गत राजरानी र राजपरिवारको सम्झनामा शोकसभाको आयोजना गरिएको थियो । मैले निकै बिद्रोही बक्तब्य अङ्ग्रेजीमा तयार गरेर बाचन गरेको थिए सानाे डायरीबाट । मैले उसलाई मात्र त्यो देखाएको थिएँ।


        वास्तवमा उसको सङ्गतले मात्र म सम्हालिएको थिएँ त्यत्रो ठुलो हत्याकाण्डको त्रासदीबाट। उनका बोली र ब्यवहारले मलाई बदलीदियो। हाम्रो बिचमा किताबको आदानप्रदान हुन्थ्यो।   मैले उनलाई पेरिसवार्ता भन्ने अब्दुल बहाको किताब पढ्न दिएको थिएँ । घरमा उनले ठुलो स्वरमा पढेको त के पढेको भन्दै सोधेर हैरान। उनले भनिन् – ” हाम्रो स्कुलको एउटा सरले पढ्न दिएको । छिटो सकेर दिनुछ ।” उनले एक हप्ता लगाएर पढीसकी मलाई फिर्ता गरिन् ।


       ” किताब कस्तो लाग्यो त ?” मैले सोधेँ । उनले जवाफ दिइन् – ” राम्रो लाग्यो । तर कुरा निकै गहिरो रहेछ ।”  बहाइ धर्मका एकजना  संस्थापक बहाउल्लाहका छोरा अब्दुल वहाँ ४० बर्षको जेलजीवनबाट मुक्त भएपछि प्रथम बिश्वयुद्ध अगाडि पेरिसको भ्रमण गर्दा दिएको प्रवचनमाला थियो त्यो ।  यसको अलावा मैले मधुपर्क साहित्यिक मासिक पढ्ने हुनाले उनले चाख लिन्थिन् । स्कुलमा खाली समयमा म मधुपर्कमा कथाहरु पढेर हाँसेको देखेर उनले त्यो पढ्दै-” यसमा हाँस्ने कुरानै केही छैन । तपाईं त्यसै हाँस्नुहुन्छ ।” भन्थी । ऊ मान्छे गम्भीर र हँसमुख  दुबै थिई ।


         तीन महिनासम्म सङ्गै काम गर्दा समय बितेको पत्तै भएन त्यसपछि त उसले स्कुलबाट बिदा लिई । कारण उसको कलेजको पढाई भएकोले उसले स्कुल छोडनुपर्यो। भर्खर एसएलसी दिएकी थिई। जाने बेलामा उसले आफ्नो गाउँको घरको पनि ठेगाना दिएकी थिई । ” हाम्रो गाउँ हो जम्काउली । म त्यहाँ हिउँदमा छुट्टी मनाउन जान्छु । तपाईं घुम्न आउनु भो भने मेरो गाउँतिर आउनुहाेस् न ”  मलाई खुशी लाग्यो । मेरो पनि पृष्ठभुमि चितवन भएकोले त्यहाँ जान गाह्रो परेन । मेरो गाउँ पिठुवाबाट जम्काउली पुग्न अप्ठ्यारो थिएन ।


       “हाम्रो मधेसमा खेतीपाती छ । त्यहाँ खेती गरेर हामी काठमाडौंमा अन्न तरकारी सब ल्याउने गर्छौ ।” उसको कुरा सुनेर मलाई रमाइलो लाग्थ्यो । हाम्रो परिवारको पनि चितवन रामपुरमा १० कट्ठा खेत थियो र हामीपनी उताबाट अन्न तेलहन आदि मगाउँथ्यौ । उससङ्ग धेरै कुराहरु मिल्थ्यो मेरो आफ्नो । उसलाई मेरो एकजना  भाइको साथीले पढाएको थियो जो मेरो पनि साथी थियो।


       कहिलेकाही बाटोमा उसङ्ग भेट हुन्थ्यो । ऊ कलेजको हरियो उनीफर्ममै हुन्थी । हाइहलो हुन्थ्यो । त्यो भन्दा बढी हाम्रो सम्बन्ध अगाडि बढेन । तर अविस्मरणीय यादहरु दिएर गै उसले जसलाई  मैले भुल्न सकेको छैन। ऊ सङ्ग मेरा पत्रवार्ता पनि भएको थियो । उसले हाम्रो सम्बन्ध असल मित्रताको हुनेछ भनेकी थिई । त्यस्तै भयो । उसको परिवार सम्भ्रान्त थियो भने मेरो परिवार मध्यमवर्गीय । हाम्रो कुनै मेल त थिएन तर ऊ भने फरासिली र खुल्ला थिई । उसका बाउआमा पनि सभ्य र सुसंस्कृत थिए । उनको पुरै परिवार घर र मावलीपट्टि त्यस्तै थिए। सब कवि  कलाकार थिए। मैले सबैलाई चिन्थें भने कतिपय त मेरै साथीहरू थिए ।


       म तीन-चार बर्षसम्म उनकी दिदीको बिद्यार्थी थिएँ जसले गर्दा मैले पढ्न जानेको थिएँ । उनकी दिदीले पिटी पिटी मलाई पढाएकी थिइन् । उनी भन्ने गर्थिन् -” राम्ररी पढ है । बिग्रेलास् तँ ।” मलाई यसको गहिरो प्रभाव पर्यो । झन उहाँको कान्छी बहिनी पनि साथी बनिन्  ।  अहिले चितवनतिर डुल्दा जम्काउलीको याद आउँछ र उनको पनि । उनी कहाँ छिन् थाहा भएन । धेरै बर्ष देखि भेट भएको छैन । जम्काउलीमा अहिलेपनि खेतीपाती जारी छ अन्न तरकारीको ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top