![]()
कविता
मकै बारी : एक सिङ्गो साम्राज्य
✍️कल्पना मरासिनी
जोत्यो, रोप्यो र सिच्यो जसले
यो सुन्दर सपनाको बारी, एक सानो विश्व
जहाँ हरियालीले शासन गर्छ
र माटोले न्यायको आभास पाउँछ
एक अपत्यारिलो तर वास्तविक साम्राज्य
जुन कसैको क्रीडास्थल
कसैको बासस्थल
र कसैको लुकामारी गर्ने स्थल
जहाँ माटोलाई आधार बनाएर
इमान्दार सिपाहीझैँ झरीमा रुझदै उभिरहेछन् हरियो अबीर दलेर
सिँगाने जरासहितका
बर्खे मकैका बोटहरू
एक दानाबाट सुरु भएर घोगाभित्र फल्दै
धान चमर गरेर एक वैशालु रुपवती झैँ
एकोहोरो टोलाइरहेछन्
जहाँ सुटुक्क आइपुग्छ मन्द बतास
काउकुती लगाई जिस्काउने सुरमा
गमलङ्ग अँगालो मार्दै
कम्मरमै बेरिँदै उकालो लाग्छन्
छिमेकी काँक्रा र बोडीका लहराहरू
जहाँ भेटाउला कि झैँ गरी
अझै तनक्क तन्किदै आकाशिन्छन्
मकैका बोटहरू
भुइँतिर हेर्दा देखिन्छ,
कछुवाले झैँ मुन्टो तन्काउँदै सीमा बिर्सिएर फैलिन हतारिएका फर्सीका झाल
र ज्ञानी भै कुनातिर आराम गरिरहेका
भटमासका झ्याङहरू
समयको क्यालकुलेटर थिचेर
आफ्ना उत्पादनको गुणन गर्न व्यस्त
धरतीको गर्भभित्र पुरिएका
एकएक दाना बीजहरू
अर्कोतिर फरक खालको चहलपहल
लावा लस्कर लगाएर किरा फटाङ्ग्राहरू लामखुट्टेको नेतृत्वमा खै के के
राग अलाप्छन् कुन्नी
साँझपख पन्चेबाजा बजाउँदै जुट्छन्
रात्रीलाई स्वागत गर्ने तयारीमा
सुटुक्क मुसाहरू ओहोरदोहोर गर्दै गर्दा बुर्कुसी मार्छ एक चंख लोखर्के
सर्पहरू चियो चर्चो गर्दै सुस्त पदचापमा घस्रिन्छन्
यहाँ सबैका फरक फरक धुन
कसैलाई आहार कसैलाई सहारा
भरिभराउछ यो साम्राज्य,
पुतलीदेखि माहुरीसम्म
गँड्यौलादेखि चिप्लेकिरासम्म
भुसुनादेखि लामखुट्टेसम्म
के छैन यहाँ ….?
को छैन यहाँ..?
जहाँ उज्यालो छिर्न डराउँछ
बर्षात माथिबाटै सिधै तीर वर्षाउँछ
यदा कदा भित्रिन्छन्,
र एकैछिनमा पुटुस्स भै फुत्त निस्कन्छन्
भोका घाँसे डोकाहरू
त्यहीभित्र चल्दैछ सरीसृपहरूबिच वंश वृद्धि र एउटा बाँच्न अर्को मर्नै पर्ने खेल
यी सबैको साक्षी बनेर शिरमाथि उभिएका चरिगानका आनन्दमा लठ्ठिँदै
एक सिङ्गो साम्राज्य सहजै
चलाइरहेछन् मकैका बोटहरू
वास्तवमै सुन्दर,मनमोहक
र आफैमा पूर्ण
मकैबारी एक विराट साम्राज्य!!







