![]()
कविता :- दृढता
✍️महेशराज खरेल
विचार बाेकेर हिड्नेहरु
उद्देश्य छाेडेर भाग्दैनन्
विचार नबाेकी लाग्नेहरु
सङ्कटकाे बेला जाग्दैनन्
तिमी भर नपर तिनकाे
जसकाे मनमा निष्ठा नहाेस्
भराेसा त्यसकाे लिनु
जराे सानै भए पनि त्याे
पत्थर खाेपेर उम्रिएकाे हाेस्
आस्था एउटा जीवन पद्धति पनि हाे
जीवन जिउने कला पनि हाे
तिमी जाग विश्वासकाे सग्लाे रुखझै
सु-वासना देउ निष्ठाकाे तिमी
फक्रेकाे सुन्दर गुलाफ झैँ
सत्य बाेली
भराेसायुक्त व्यवहार
सत्मार्गका साथी हुनेछन् तिम्रा
बाटाे अप्ठ्याराे हुन सक्छ
ठाउँ कुठाउँ ठेस लाग्न सक्छ
गल्छिँडा बार र पर्खालले
तिम्राे लक्ष छेक्ने काेसिस हुन सक्छ
तिमी सत्य वचन र कर्तव्य बाेकी
भराेसायुक्त बाटाे नछाेडी हिँड
नागरिकका यात्रामा रात पर्न सक्छ
अनकण्टार मार्गमा दृष्टिमा अवराेध पुग्नसक्छ
तिमी चेतनाकाे दियालाे बालेर
मान्यताकाे प्रकाश छर्दै हिँड
दृढता मानव चेतनाकाे आस्था बाेक्ने
माध्यम पनि हाे
तिमी आइपर्ने बन्देजहरु हटाउँदै अघि बढ
एक्लाे छु भन्ने नठान तिमी
तिम्रा पदचापलाई पछ्याउने
र तिमीलाई साथ दिने
अनन्य मित्रहरु पाउँदै जानेछाैड
गन्तव्य टाढा देखेर
न अलमलियाै तिमी
हेर!
आँट र अठाेट
मार्गका वाहन हुनेछन् तिम्रा
सारथि मनकाे साथ रहेसम्म
हरेस नखाउ तिमी
पूर्वकाे नवकिरणले जन्माउनेछ
जागृति नव-चेतनाकाे
तिमी त्यसकै साहारामा अघि बढ
अविचल बन्नु पर्छ तिम्राे यात्रा
लक्ष्य अभेद्य छ
हेर !
आज देशलाई तिम्राे खाँचाे छ ।







