Sabda Prabaha

Loading

हामी र हाम्रो कृति समाजको तेस्रो वार्षिकोत्सव सम्पन्न, तीन स्रष्टा सम्मानित र संयुक्त मुक्तकसंग्रह लोकार्पण

काठमाडौँ। ‘हामी र हाम्रो कृति समाज’ लाजिम्पाटको आयोजनामा तेस्रो वार्षिकोत्सव, स्रष्टा सम्मान, पुरस्कार वितरण तथा संयुक्त मुक्तकसंग्रह ‘हामी र हाम्रो अमर कृति’ लोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। २०८३ साल भदौ २० गते शनिवारका दिन काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा उक्त विशेष साहित्यिक समारोहको आयोजना गरिएको हो।

समाजका अध्यक्ष मदन प्रसाद नेपालको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तथा मुक्तककार ज्ञानुवाकर पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, उपाध्यक्ष वियोगी बुढाथोकी र प्रतिनिधि सभा सदस्य एवं साहित्यकार प्रेम तपस्वी (प्रेमलाल चौधरी) को उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नवराज ‘नवशिला’ले गर्नुभएको थियो।

समारोहमा संस्थाका सदस्य सुभद्रा अधिकारीले उपस्थित अतिथि तथा साहित्यकारहरूलाई स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो भने संस्थाका सचिव बद्री उप्रेतीले संस्थाले हालसम्म गरेका विविध गतिविधि र प्रगति विवरणबारे जानकारी गराउनुभएको थियो। सोही मञ्चबाट संयुक्त मुक्तकसंग्रह ‘हामी र हाम्रो अमर कृति’को औपचारिक लोकार्पण गरिएको थियो।

कार्यक्रमका अवसरमा नेपाली मुक्तक साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै तीन जना स्रष्टाहरूलाई जनही रु. ११,१११ (एघार हजार एक सय एघार) नगद राशि र सम्मान पत्रसहित भव्य सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा ‘सरुभक्त सम्मान पुरस्कार’बाट मुक्तककार नेत्र खतिवडा, ‘उषा शेरचन सम्मान पुरस्कार’बाट मुक्तककार ग्रीष्मा पौडेल र ‘ज्ञानुवाकर पौडेल सम्मान पुरस्कार’बाट मुक्तककार कर्ण दयाल सोडारी रहनुभएको छ। अतिथिहरूलाई स्वागत गर्न उपाध्यक्ष नम्रता उप्रेती र सरिता थापाले खादा तथा माला पहिराउनुभएको थियो।

लोकार्पित कृति ‘हामी र हाम्रो अमर कृति’माथि टिप्पणी गर्दै वरिष्ठ समीक्षक तथा समालोचक डा. भरतकुमार भट्टराईले पुस्तकभित्र समेटिएका मुक्तकहरूले समसामयिक परिवेश, जीवनदर्शन र मानवीय संवेदनालाई सशक्त रूपमा प्रस्तुत गरेको बताउनुभयो। तत्पश्चात् कार्यक्रममा सम्मानित स्रष्टा नेत्र खतिवडाका साथै एकराज भट्टराई (अन्जान समिर) र नम्रता उप्रेतीले आफ्ना चोटिला मुक्तकहरू वाचन गरेर दर्शकहरूलाई मन्त्रमुग्ध पार्नुभएको थियो।

शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि ज्ञानुवाकर पौडेल, विशिष्ट अतिथिहरू रामकाजी कोने र प्रेम तपस्वीले समाजले छोटा तथा प्रभावकारी विधा मुक्तकको संरक्षण र विकासमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। उहाँहरूले सम्मानित स्रष्टाहरूलाई बधाई दिँदै लोकापित कृतिले नेपाली साहित्यमा छुट्टै पहिचान बनाउने विश्वास व्यक्त गर्नुभयो।

अन्तमा, सभाध्यक्ष तथा समाजका अध्यक्ष मदन प्रसाद नेपालले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, स्रष्टा, समीक्षाकर्ता तथा उपस्थित साहित्यप्रेमीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो।

भर्खरै

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top