Sabda Prabaha

Loading

कवितातिमी मेरो को हौ? ✍️.सलिन बिष्ट (प्र. सम्पादक) बनेपा-१२ काभ्रे अपरिभाषित सम्बन्धकोयो कुहिरोभित्र,म कता हराइरहेछु;तिम्रै अस्तित्वको मृगतृष्णामा?प्रश्न अनुत्तरित छ,तर आभास शाश्वत। तिमी मेरो हृदय-कुञ्जमासुटुक्क छिर्नेत्यो मन्द समीर हौ,जसको स्पर्शले मेरोचेतनाको सुषुप्त तन्तुलाईएक अज्ञात झङ्कारलेबिउँझाइदिन्छ।मलाई थाहा छैन तिमीकुन नाताको परिधिभित्र छौ,मात्र यति थाहा छ;तिमी मेरो अभावको ऐश्वर्य हौ। जब मेरा आँखाहरूक्षितिजको अकिञ्चनताभित्रटोलाउँछन्,त्यहाँ तिम्रो सौम्य आकृतिकोएक…

कविता
तिमी मेरो को हौ?

✍️.सलिन बिष्ट (प्र. सम्पादक)

         बनेपा-१२ काभ्रे

अपरिभाषित सम्बन्धको
यो कुहिरोभित्र,
म कता हराइरहेछु;
तिम्रै अस्तित्वको मृगतृष्णामा?
प्रश्न अनुत्तरित छ,
तर आभास शाश्वत।

तिमी मेरो हृदय-कुञ्जमा
सुटुक्क छिर्ने
त्यो मन्द समीर हौ,
जसको स्पर्शले मेरो
चेतनाको सुषुप्त तन्तुलाई
एक अज्ञात झङ्कारले
बिउँझाइदिन्छ।
मलाई थाहा छैन तिमी
कुन नाताको परिधिभित्र छौ,
मात्र यति थाहा छ;
तिमी मेरो अभावको ऐश्वर्य हौ।

जब मेरा आँखाहरू
क्षितिजको अकिञ्चनताभित्र
टोलाउँछन्,
त्यहाँ तिम्रो सौम्य आकृतिको
एक विम्ब सलबलाउँछ।
तिमी त्यो अतृप्त प्यास हौ,
जसलाई पिउनु भन्दा
पर्खिनुमा नै मैले जीवनको
सार्थकता भेटाएको छु।
न तिमी मेरो प्राप्ति हौ,
न त मेरो विछोड,
तिमी त केवल मेरो मौन
प्रार्थनाको प्रतिध्वनि हौ।

जसरी कुमुदिनीले चन्द्रमाको
शितलतामा
आफूलाई अर्पण गर्छे,
मेरो भाव-प्रवाह पनि तिम्रै
अदृश्य आकर्षणमा बगिरहन्छ।
तिमी मेरो को हौ?
शायद,
मेरो अर्ध लिखित कविताको
त्यो उत्कृष्ट विश्रान्ति
नाद सौन्दर्य,
वा मेरो एकान्तको साक्षी बस्ने
त्यो अविचलित ध्रुवतारा।

सम्बन्धका ती कठोर नामहरूले
तिमीलाई बाँध्न चाहन्नँ,
किनकि अनामिक हुनुमा
नै तिम्रो र मेरो सम्बन्धको
अलौकिक गरिमा लुकेको छ।

तिमी मेरा निस्पट्ट संवेगहरूको
त्यो निर्वाण आभास हौ,
जहाँ पुगेर मेरा शब्दका
सामर्थ्यहरू नतमस्तक हुन्छन्,
र विसर्जित हुन्छ;
मेरो सम्पूर्ण अस्तित्व।

त्यहाँ न कुनै भाषा छ,
न कुनै ध्वनि,
केवल तिम्रो सामिप्यताको
एक दिव्य अनुकम्पा छ,
जहाँबाट अनन्त,
अविराम र स्वर्णिल मौनताको
साम्राज्य आरम्भ हुन्छ।

भर्खरै

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top