![]()
लघुकथा : अतृप्त छाया
✍️योगी नारायण नाथ
झ्याप्प बत्ती निभ्यो। इलामको त्यो पुरानो बंगला झन् रहस्यमयी बन्यो। लेखक समिरको काँधमा अचानक एउटा बरफ जस्तै चिसो तर मखमली हात सर्सरायो। कस्तूरी र सुनाखरीको तीव्र सुगन्धले कोठाको हावा भारी भयो।
“को हो?” समिर जुरुक्क उठे।
“म… तिम्रो शब्दले प्राण भरेको एउटा अधुरो सपना,” अँध्यारोको गर्भबाट एउटा नीलो, अर्ध-पारदर्शी आकृति अगाडि आयो—माया।
“तिमी… मान्छे होइनौ,” समिरको बोली थर्कियो, तर आँखा मायाको देह-सोपानमा अड्किए।
“के फरक पर्छ र? तिमी अभिव्यक्तिका तिर्खाएका चातक, म स्पर्शकी अतृप्त गङ्गा,” मायाले मन्द मुस्कानका साथ आफ्नो हिम-शितल ओठ उनको ओठमा टँसाइन्।
त्यो स्पर्श हिउँ जस्तो चिसो थियो, तर त्यसले समिरको नशा-नशामा काम-अग्नि सल्काइदियो। डर र वासनाको सिमाना मेटियो। अँध्यारो कोठामा दुई विपरीत ध्रुवहरू एकअर्कामा यसरी पग्लिए, मानौं एउटा जीवित मसी र अतृप्त प्रेत-आत्माको कामातुर महाकाव्य रचिदै थियो। मायाको हरेक उच्छ्वास र तान्त्रिक स्पर्शले समिरलाई चरम आनन्दको त्यो शून्य आकाशमा पुर्यायो, जुन मरणशील संसारको नियमभन्दा धेरै पर थियो।
बिहानीको पहिलो किरण झ्यालबाट भित्र पस्यो। समिर ओछ्यानमा एक्लै थिए। तर उनको तप्त शरीरमा अझै पनि त्यो अलौकिक चिसोपन ताजा थियो। उनी जुरुक्क उठेर टेबलतिर हेरे, जहाँ उनको अधुरो डायरी खुला थियो। त्यहाँ कस्तूरीको सुगन्ध आउने रातो मसीले लेखिएको थियो:
“तिमीले मलाई आफ्नो सिर्जनामा अङ्कित गर्यौ, मैले तिमीलाई आफ्नो अनन्तता सुम्पिएँ। म फेरि आउनेछु… हरेक औंसीको रात।”







