![]()
मुक्तक
✍️अन्जली कु. मेहता
मुक्तक १
मलाई अब ‘म’ जस्तै म हुन मन छ
आफूले यी अन्तर मनलाई छुन मन छ
अरूका व्यथा सुन्न नखोज्ने संसारमा,
आफ्नो व्यथा आफैले धुन मन छ।
मुक्तक २
नारी हुनु पाप कि पुण्य यति भनिदेऊ पुरूष
अन्तर मनमा ग्रसित यी भावना बुझिदेऊ पुरूष
देवी भनी सधैँ पुजिन्छन् मन्दिरमा नारी ,
प्रेम गर्न नसके नारीको सम्मान गरिदेऊ पुरूष
मुक्तक ३
प्रेमका नाममा आज नारी बलत्कृत हुन्छन् किन
प्रेम गर्छु भनी सधैँ नारीको चित्त धुन्छन् किन
हे पुरुष तिम्रा लागि यदि यही नै प्रेम हो भने ,
तिम्रा ती व्यवहारले गर्दा नारी रुन्छन् किन?
मुक्तक ४
आफ्नो प्रेमी अब आफूलाई बनाउनु छ
रुवाउनेको अगाडि आफूलाई हँसाउनु छ
यो कलियुग हो साथी यहाँ कृष्ण आउँदैन,
आफ्नो लाज यहाँ आफैँले बचाउनु छ।







