![]()
लघुकथाः बाबालाई के काम !
~ कल्पना मरासिनी
भूमिकास्थान,अर्घाखाँची
हाल : ललितपुर ।
“कोठाभित्र के धुनखुन गरेर बसिरहेकी ए जमुना!” छिमेकी सरलाले भित्र पस्दै सोधिन् । जवाफमा जमुना बोलिन्,”के हुनु नि!यिनै पुराना र बहुमूल्य सामानहरू संकलन गरेर राख्दैछु।
“आ..! के नचाहिने सामान घरभित्र थुपारेर ठाउँ साँघुरो बनाएकी ?” सरलाले नाक खुम्चाउँदै प्रतिक्रिया दिइन् ।
जमुनाले केहि भन्न नपाउँदै सरला बोलिन,” खै ! हाम्रा रिमाका बाले पनि तिमीले झैँ दराजमा सबै सजाएर राखेका छन् ।तीनका ठाउँमा नयाँ सामान किनेर सजाऊँ न भन्दा नि सुनेको नसुनै गर्छन् ।”
“हेर मेरो सुद्धि ! मेलामा लैजानको लागि अगेनुमा आलु उसिन्न बसालेकी थिएँ।
भुसुक्कै डढे होला ।”भन्दै सरला हतारमा दौडिन् ।
“आमा यो त मेरो बच्चा बेलाको लुगा है।” छोराले छेवैमा बस्दै भन्यो । “हो नि! हेर त यो तिम्राे र तिम्री दिदीको भात खुवाई( पास्नी)को लुगा, बाला र पहिलो जोर जुत्ताहरू ।”
“अनि यिनीहरू नि ?” छोराले उत्सुकताकासाथ सोध्यो । यो मेरो बुवाको मनपर्ने स्वेटर, मैले बुनिदिएको ।उहाँको दाह्री काट्ने सामानको बट्टा ।आमाको मनपर्ने ढाकाको पछ्यौरी, हजुरबुवाका खराउ.…. ।
यति भन्दै गर्दा जमुना भावुक बनिन् र छोराले नदेख्ने गरी पछाडि फर्केर आँसु पुछिन् ।
“अनि यी सबै यति जतनसाथ किन राख्नुभएको आमा?” छोराको प्रतिउत्तरमा उनी बोलिन्, “किनकि यि मेरा स्वर्गीय बा-आमाका निसानी हुन् जसले विगतका सम्झना स्मृतिमा ताजा बनाएर राख्छन् ।”
“ए ! त्यसो भए मैले पनि भविष्यमा हजुरहरूका सामानहरू यसैगरी नै सुरक्षित गरेर राख्छु है आमा!” जमुना केहि नबोली स्वीकृति सूचक टाउको हल्लाउँदै छोराको कपाल मुसारिरहिन् ।
एकछिन पछि जमुना मकैबारीबाट असिन पसिन हुँदै घाँसको भारी बिसाएर भित्र पस्दा रोइरहेको छोरालाई देखेर हतारिँदै सोधिन्, “किन रोएको बाबु, के भयो?”धेरै कर गरेपछि ऊ हिक्क हिक्क गर्दै बोल्यो, “
बाबाले ती सबै सामान काम नलाग्ने भन्दै फोहोर उठाउन आउने मान्छेलाई दिएर पठाउनुभयो…..।”


