![]()
त्रिवेणी साहित्य मञ्च, अमेरिकाको अभ्यास समूहमा शनिबार अभ्यास भएको विधा गजल:
गजल
तिमीलाई नै आफ्नो मान्छे बनाउन सकिनँ ।
तिमीलाई यो दिलमा मैले सजाउन सकिनँ ।
तिम्रै कारण तिमीदेखि टाढा हुनु पर्यो मैले,
तिमीलाई नै आज मनमा अटाउन सकिनँ ।
मेरो धेरै चाहना थियो जुनिभरि तिम्रै हुने तर,
तिम्रो बानीले तिम्रो नजिक आउन सकिनँ ।
तिमीलाई आफ्नो मान्छे ठान्नु भूल गरेछु,
अर्कैको रहेछौ तिमीलाई मैले पाउन सकिनँ।
तिम्रो सामु कहिले आउँदिन म माफ गरिदेउ,
जानी बुझी तिमीलाई नै मैले धाउन सकिनँ
✍🏻 शब्दयात्री लम्साल ( कमला )
लम्सु, दैलेख
गजल
मेरी आमाले मलाई सधैँ ज्ञानी हुनु भन्नुहुन्छ ।
दुश्मन आगो भए तिमी चै पानी हुनु भन्नुहुन्छ ।
आमाको मन हो छोराछोरीमाथि सधैँभरि,
कान्छी बैनीलाई तिमी रानी हुनु भन्नुहुन्छ ।
बैनीलाई सम्झाउँदै भन्ने गर्नुहुन्छ आमाले,
ठुला बडाको अगाडि सानी हुनु भन्नुहुन्छ ।
ईश्वरको पू जा गरी गुरुमा विश्वास राखी,
दु:खीहरूमाथि दयाको खानी हुनु भन्नुहुन्छ ।
तिमीसँग रूपयाँ पैसा धनसम्पत्ति नभए पनि,
दुनियाँमा सबैभन्दा भाग्यमानी हुनु भन्नुहुन्छ । बिधुत गुरुङ, गोरुबथान
गजल
मनको सफा हुनुपर्छ प्रिय श्रृङ्गार चाहिँदैन ।
असल गुण भएकालाई खासै प्रचार चाहिँदैन ।
फूलको सुगन्ध पुगे आफैँ आउँछन् भमरा,
मिठो बास्ना भए अरू आधार चाहिँदैन ।
तिमीलाई आफ्नो बनाउन आँसु बगाएको छु,
मायामा विश्वास भए कुनै आकार चाहिँदैन ।
प्रेमको नाम बेचेर व्यापार गरिरहन्छौ तिमी,
पागल प्रेमि भन्छ, तिमी भए संसार चाहिँदैन ।
विश्वास गरेको ठाउँमै जब घात हुन पुग्यो,
मन मरिसक्यो खुकुरीको प्रहार चाहिँदैन ।
- विनोद कुमार शाही ‘लभडोन ‘
दैलेख चामुण्डा
गजल
उनलाई जिताई आफू हारेको मान्छे हुँ ।
आफ्नो मनलाई आफैंले मारेको मान्छे हुँ ।
हाँसो के हो,खुसी के हो, नसोध्नुस् हजुर,
सिङ्गो जिन्दगी काँडेतारले बारेको मान्छे हुँ ।
मुटुमा सजायको मान्छेले अर्कै रोजेपछि,
गहभरि आँसुका धारा झारेको मान्छे हुँ ।
फुलेर फक्रिएर फल पनि लाग्थ्यो होला,
तर फुल्न नपाई अन्तैतिर सारेको मान्छे हुँ ।
कसलाई आफ्नो, कसलाई पराई सम्झिनु र,
आफ्नै आफन्तले अप्ठ्यारोमा पारेको मान्छे हुँ ।
✍️ आर के भण्डारी
गजल
पर्खाइमा छु मदहोसी सुमधुर रात मिले यदि ।
हेर्दै रमाउँथेँ साथ दिदैँ गरेको बात मिले यदि ।
मुटुमा सजिएको चम्किलो तारा देखाउनलाई,
भाग्य बद्लिन्थ्यो कि मायाको हात मिले यदि ।
राम्रो किताब र राम्रो मानिस बुझ्न गार्हो हुन्छ,
पढी बुझ्न सक्ने कुनै वैंशालु मात मिले यदि।
एकचोटि पढेर त हेर अगाडि बढ्न डराए नि,
सजाएर राख्थे मायैमायाको खात मिले यदि ।
बस्दा एकान्तमा एककोहोरी गुन्गुनाउँछु डराएर,
फेरि जिउँला म क्यारी दोबाटोमा घात मिले यदि।
✍️ ध्रुव खड्का
फेदीखोला १, स्याङ्जा ।
गजल
म सधैँका लागि निदाउँछु भन्ने डर लाग्छ ।
आजभोलि किन एकान्त आफ्नै घर लाग्छ ।
आमाको मनसम्म नपुगेको पनि धेरै भयो,
थाहा छैन किन आफ्नै आँगन सहर लाग्छ ।
औषधि किन्न हिँडेको छोरो घर फर्किएन,
आजकल आफन्तकै व्यवहार असर लाग्छ ।
आफू बाँचूँ कि मरूँ, दोधारमा छु आजभोलि,
किन स्वर्गजस्तो घर पनि खुला बगर लाग्छ ।
दुनियाँसँग हराउँछु भन्ने डर बोकेर बाँचे पनि,
फक्रिन खोज्ने फूललाई पहिले नजर लाग्छ ।
✍️ रिमेन आलोक, अष्ट्रेलिया ।
गजल
आँसुका पाटाहरू छिचोल्ने मीठो मुस्कान बनेर आउँछ जिन्दगी ।
कहिले शान्त तलाउ त कहिले तूफान बनेर आउँछ जिन्दगी ।
ठेस लागेर लडेका ती लाचार खुट्टाहरूलाई सोध्नु तिमी सधैँ,
हरेक चोटपछि एउटा बलियो पहिचान बनेर आउँछ जिन्दगी ।
ती यात्रीहरूका निम्ति जो सङ्घर्ष यात्रामा अनवरत हिँडिरहेका छन्,
अँध्यारो गुफाभित्र पनि दिव्य ज्ञान बनेर आउँछ जिन्दगी ।
धोका र घृणाको बाक्लो हिलोमा पनि सजिलै फुल्न सक्ने,
कमलको फूल जस्तै एउटा पावन अनुष्ठान बनेर आउँछ जिन्दगी ।
निस्वार्थ भावले कसैको सेवामा समर्पित भएका ती हातहरूमा,
ईश्वरको अनुपम एवं सर्वश्रेष्ठ वरदान बनेर आउँछ जिन्दगी ।
- सलिन विष्ट
बनेपा -१२, काभ्रे ।
गजल
रोक्दा-रोक्दै पनि आँसु खसेको पत्तै पाइनँ ।
अधर्मीको जालैमा म फसेको पत्तै पाइनँ ।
समाजको अगाडि आफ्नै हुँ भनी जताउनेले,
बचनको छुराले मुटुमै धसेको पत्तै पाइनँ ।
फेरि आयो कोही जीवनमा पारिलो घाम बनी,
मुटुको घाउमा मलम बनी पसेको पत्तै पाइनँ ।
यो मनलाई पनि थाहा छ, पाउँदिनँ कहिल्यै भन्ने,
यति हुँदाहुँदै पनि गहिरो माया बसेको पत्तै पाइनँ ।
बयान कसरी गरूँ उसको निस्वार्थ प्रेमको मैले,
थाहै नपाई मलाई मायाले कसेको पत्तै पाइनँ ।
- सूर्य गाहा मगर
स्याङ्जा ।
गजल
हृदयको मन्दिरमा तिम्रो त्यो बास भुल्न सक्दिनँ ।
हेरिरहने मलाई नै त्यो नजर खास भुल्न सक्दिनँ ।
टाढा हुँदा भने लाग्छ मरुभूमि हो यो जिन्दगी पनि,
तिमीलाई खोजिरहने ओँठको प्यास भुल्न सक्दिनँ ।
बदलिए कयौँ मौसम, पग्लिए हिउँका धेरै टाकुराहरू,
तिम्रो आगमनले पलाएको मधुर आश भुल्न सक्दिनँ ।
सारा खुशी एकातिर तिम्रो सामीप्यता अर्कैतिर जाँदा,
तिम्रो काखमा सुतेर फेरेको त्यो सास भुल्न सक्दिनँ ।
लाग्छ अचेल आज धड्कन पनि बन्धक भएछ क्यारे,
मायाको डोरीले बाँधिएको सुन्दर पास भुल्न सक्दिनँ ।
✍️ भोज विवश मगर
गैंडाकोट -३, नवलपरासी पूर्व ।
गजल
दिलको शहरमा तिम्रो नै शासन रहेछ ।
हरेक धड्कनभित्र तिम्रै स्पन्दन रहेछ ।
आँसु लुकाई हाँसे पनि यो संसारमा,
भित्रभित्रै पोल्ने पीडाको दहन रहेछ ।
संसारिक अर्थ खोज्दा सम्बन्धहरूको,
मेरालागि तिम्राे नाम नै धड्कन रहेछ ।
फूलझैँ सजाएको यात्रामा जिन्दगीको,
कयौँ मोडमा काँडाकै आलिङ्गन रहेछ ।
तिम्रो याद मात्र किन आउँछ साेचेकाे,
हृदयभित्रै प्रेमको गहिरो गर्जन रहेछ ।
✍️डि पी शर्मा खनाल, दैलेख ।
गजल
मनभित्र पीडाले डेरा जमाएर बसेको रहेछ !
ओठले भित्र मुस्कान सजाएर बसेको रहेछ !
विश्वासको बोट मैले बहुत प्रेमले हुर्काएपछि,
समयले पो जरैदेखि चलाएर बसेको रहेछ ।
सपनालाई अँगाल्दै हिँडेको जीवन यात्रामा,
बाटोले हरपल काँडा छराएर बसेको रहेछ ।
आँसुका अक्षरहरू हरपल हाँसोभित्र लुकाएँ,
ऐनाले सबै कुरा देखाएर बसेको रहेछ ।
मैले सत्यका छेंड्खानलाई शब्दमा उतार्दा,
त्यो गजलले मन छुने बनाएर बसेको रहेछ ।
✍️मेनुका शर्मा
दक्षिण सिक्किम ।
गजल
हुन्छन् मान्छे अनेकथरि ।
घुमिरहन्छन् सधैं वरिपरि ।
सानो कुरा भेट्टाउनै हुन्न,
घोचिरहन्छन् घरिघरि ।
अरूको मात्र डाहा गर्छन् ,
खाँदैनन् आफू मिहिनेत गरि ।
मौसमको कुनै ठेगान हुँदैन,
कहिले घाम, कहिले झरि ।
रिस, राग, घमण्ड त्यागौँ,
के नै लानु छ र आखिर मरि । - सावित्री प्याकुरेल, धादिङ ।
गजल
मैले धागो तिमी चरी कि चङ्गा हुनुपर्थ्यो ।
तिमी सौम्य सागर म बग्ने गङ्गा हुनुपर्थ्यो ।
पूजा-आजा गर्दै धूप, दीप, नैवेद्य चढाउन,
तिमी देवता बनेको भए, म पतङ्गा हुनुपर्थ्यो ।
संसारका बन्धन तोडी महात्मा बन्ने रहर छ,
भिक्षा माग्दै खरानी घस्ने नङ्गा हुनुपर्थ्यो ।
म त भुइँ मान्छे हुँ भुइँमै ठिक छ मेरो जिन्दगी ,
नोकर चाकर गरेर कि बस्ने खलङ्गा हुनुपर्थो ।
एकबारको जिन्दगीमा केही गरि देखाउनु पर्छ,
नत्र मसाल हुनुपर्थ्यो कि हुलदङ्गा हुनुपर्थ्यो । - टेकेन्द्र सिंह धामी, बैतडी ।
गजल
तिमीले कसको नाउँमा चुरा पोते लगायौ ?
गरगहना शिरदेखि पाउमा चुरा पोते लगायौ ।
हरियो सारी, हातमा रातो, कालो मेहन्दी भरेर,
इज्जत नै नराखी दाउमा चुरा पोते लगायौ ।
श्रृङ्गारिएर चिटिक्क जुनकिरी पुतली जस्ती,
हेरिरहूँ झैँ लाग्ने सजाउमा चुरा पोते लगायौ ।
मोहनी बोलिमा झन् जवानी भरिएकी तिमी,
हेर्दाहेर्दै कसको बहकाउमा चुरा पोते लगायौ ।
कसम खाएका बाचा बन्धन हावामा उडाएर,
अरूको मायाको छेउछाउमा चुरा पोते लगायौ ।
- पदम लोहार (प्रिन्स)
बाजुरा ।
गजल
वसन्तले वनभरि मधुरो राग गाएको मन पर्छ ।
फूलको सुवासले यो मनभरि छाएको मन पर्छ ।
तिम्रो मुस्कानले मेरो जीवनलाई नयाँ अर्थ दिँदा,
भाग्यले तिमी जस्तो साथ पाएकाे मन पर्छ ।
हिमाल, नदी र चराको त्यो सुन्दर परिवेशमा,
प्रकृतिको उपहारले धर्तीलाई सजाएको मन पर्छ ।
प्रेमको बाटो फूलैफूलले सजिदाँ रमाउँछ यात्रा,
जिन्दगीको यात्रामा तिमी सधैं आएको मन पर्छ ।
मायामा नैतिकता, विश्वास, संस्कार रहन्छ भने,
दुई आत्माले सँगै जिउन कसम खाएको मन पर्छ ।
- लक्ष्मी रेग्मी ‘शब्दयात्री ‘
उर्लाबारी, मोरङ ।
गजल
तिम्रो आँखाको गाजलमा हराउन मन लाग्छ ।
तिमी हाँस्दा यो संसार भलाउन मन लाग्छ ।
सधैंभरि तिम्रो छायाँ बनेर साथ दिंदै,
मायाको एउटा नयाँ बस्ती बसाउन मन लाग्छ ।
जीवन यो तिम्रो ओठको मुस्कान बन्न पाओस्,
हरेक पल तिमीलाई नै फकाउन मन लाग्छ ।
तिम्रो नामको सुवास ढुकढुकीमा लुकाई,
यो चोखो प्रेम सारा संसारलाई देखाउन मन लाग्छ ।- राजेश भण्डारी
गजल
यहाँ बेच्नेहरूले इज्जत फाट्टफुट्टमा बेचिरहेका छन् ।
युवाहरूले पसिना रगत फाट्टफुट्टमा बेचिरहेका छ्न ।
देशमा कालो बजार र भ्रष्टाचारले पूरा सीमा नाघी सक्यो,
जनताको मनमा राखेर खत फाट्टफुट्टमा बेचिरहेका छ्न !
भोकमरी, बेरोजगारी फेरिएन फेरबदल भयो सरकार बरू,
परिवर्तनको नारामा जनमत फाट्टफुट्टमा बेचिरहेका छन् ।
मलाई दु:ख त्यति बेला लाग्छ जब मुग्लान जाने तयारी हुन्छ,
सत्तामा पुर्याउन गरिएको मद्दत फाट्टफुट्टमा बेचिरहेका छ्न ।
चुनावी नारामा गरीब, दु:खीको समस्या समेटेर झुक्याई रहे,
सधैं जनताहरूलाई गरेर जफत फाट्टफुट्टमा बेचिरहेका छन् । - क्षितिज बिरु राना
वनगाड कुपिण्डे-३, बडापोखरा सल्यान ।
गजल
मनभित्रको पीडा कसैलाई पनि देखाइँदैन यहाँ ।
हाँसो ओडेको छ अनुहारले सत्य बताइँदैन यहाँ ।
आफ्नै सम्झी टेकेको काँध पनि टाढा भइदिन्छ,
स्वार्थको यो सहरमा कुनै नाता टिकाइँदैन यहाँ ।
सपनाका महलहरू आँधीले भत्काइदिए पनि,
आशाको दियो भने सजिलै निभाइँदैन यहाँ ।
घाउ जति गहिरो भए पनि समय नै मलमा बन्छ,
दुःखको बादल सधैंभरि अँध्यारै छाइँदैन यहाँ ।
हारेर बस्नु कमजोरी, फेरि उठ्नु साहस हो,
संघर्ष गर्ने मान्छे कहिल्यै पनि हराइँदैन यहाँ ।
- प्रशंसा तामाङ कबड्डी खेलाडी
घर खाँडादेवी -८ रामेछाप (कक्षा – ११)
✍️बहर- मुजारे अखरब
अर्कान- 221-2122-221-2122
कस्तो छ मोहनी कालो केशको जुरामा ।
शोभा विछट्ट देखेँ झन् हातका चुरामा।
बोलेर बात झुट्ठा ठग्ने हजार हुन्छन्,
विश्वास हुन्न प्यारी चिप्ला छली कुरामा।
जो प्रेम गर्छु भन्छन् हुन्छन् खुला सधैँ ती
साँचिन्न प्रीत चोखो बाँधेर पन्तुरामा ।
कर्मी बनेर बाँचूँ होस् जिन्दगी स्वतन्त्र,
विश्वास लाग्छ मेरै यी हात पाखुरामा ।
पाइन्छ शान्ति भन्दै मान्छे बने नशालु
मिल्दैन शान्ति किञ्चित् भट्टी तथा सुरामा ।
- वेद प्रसाद रिजाल
गजल
नकाब ओढेर ताली मारेछन् यहाँ ।
इमान बेचेर सत्य टारेछन् यहाँ ।
बाहिरी रूपलाई सबैथोक ठान्नेले,
आत्माका सबै रङ्ग झारेछन् यहाँ ।
लुगाले मान्छे ठूला हुन्छन् भन्ने भ्रमले,
लाजका सबै पर्दा उघारेछन् यहाँ ।
ब्रान्डकै पछिपछि दौड्नेहरूले,
मान्छेपन नै पछि पारेछन् यहाँ ।
समयको ऐनाअघि नकाब टिक्दैन,
झुटका सबै मुकुट उतारेछन् यहाँ ।
✍️सतीश पण्डित
भानु-६, चुँदी, तनहुँ
हाल: चनपा – ६, मतातीर्थ ।


