![]()
लघुकथा: छिर्लिङ् खोला
✍️ कल्पना मरासिनी
भूमिकास्थान,अर्घाखाँची
हाल : ललितपुर ।
“बा! आज म विद्यालय जान्न बरु तपाईंसँगै बेसी झर्छु नि है।”चाहनाको बेग रोक्न नसकि मैले एकै सासमा बालाई सोधेँ । गोरुलाई पराल र पिँडो दिइरहनु भएका बाले मतिर हेरेर भन्नुभयो, “हुन्छ तर अहिले होइन, दिउँसो खाजा ल्याउँदा आमासँगै आउनू।”
“खाजा छिटो झार्नु, हिलोमा काम गर्दा खेतालाहरु छिटो भोकाउँछन्।”बाहिरैबाट आमालाई सम्झाएर बा बेसीतिर लाग्नुभयो।
ठूलो तामाको खड्कुलोमा घिउ हालेर चामलको पिठो भुट्दा घर नै सुवासित बन्यो । आँप र केराको बुङ्गाको अचार अनि सेल रोटी त्यसमा नयाँ परिकार थपिए।
सबै सामान डोकामा राखेर माथिबाट रातो पछौरीले ढाक्दै आमाले भन्नुभयो, ल अब हिँड । बाटो ओरालो छ बिस्तारै हिँड है !”
हामी हिँड्ने बेला साँच्चिकै थाहा पाएझैँ गरी सेती र गुनी भैंसीले हामीतिरै कान फर्काएर हेरिरहे ।
मेरो मन पहिले नै बेसी पुगिसकेको थियो। खुसीले पुतली बनेर उड्दै म आमाको अघि लागेँ। म भन्दा अघि पुच्छर हल्लाउँदै काली हिँडिरहेकी थिई । म जस्तै खुसी ऊ पनि देखिन्थी ।
आमाले बाटोमा नयाँ पलाएका सालका पातहरू टिप्दै र खै के के हो नबुझिने गरी गीत गुनगुनाउँदै हुनुहुन्थ्यो।
वारीबाटै प्रष्टै सुनिने खोलाको सुसाईसँगै सहनाई र असारे भाकाको राग हाम्रो कानमा ठोकिन आइपुगेको थियो ।
मेरो कम्मरसम्म आउने छिर्लिङ खोला तरेर पारी पुग्दा लाग्यो, आज मान्छेभन्दा धेरै हिलोको साम्राज्य र सिङ्गै गाउँ बेसीमै झरेको जस्तो अनि त्यसका नायक मेरा बा ।
म दौडिएर बा छेउ पुगेँ । बाले मलाई काखमा लिँदै भन्नुभयो,”आइस्..!” मैले जवाफमा मुख खोल्नै परेन।
आमाले टपरीमा खाजा बाँड्नुभयो। सबैले खेतको आलीमा बसेर अमृत जस्तै मिठो मानेर खाए मानौं ,लैनो भैँसीले दोहोला घाँस पाए झैँ..!
अन्त्यमा मैले हिलोले ढाकिएका माले र झुलेलाई देखेँ र बालाई सोधेँ। “बा !अब मालेर झुलेलाई कसरी नुहाइदिने ? खोलामा त धारा छैन नि !”जवाफमा बा केही नबोली मुस्कुराई रहनुभयो…!


