![]()
कविता
मुस्कुराउँदो यात्रा
✍️ आराध्या न्यौपाने
घोराही १०,नारायणपुर, दाङ
जीवन हो-
कठिन परिस्थितिको
उतार चढाव
र समस्याले भरिपूर्ण यो
तर पनि पछाडि नपरौँ है
सकारात्मक सोच सदैव राखौँ है !
आए र आउनेछन्
निकै बाधा जीवनमा
कहिल्यै नथाकौँ है,
समस्यासँग लड्ने सम्बन्धमा
तान्ने छन् खुट्टा
गर्ने छन् निन्दा
तर, मौन रही कर्म गर्ने हुनुपर्छ
यहाँ जिउँदा।
असत्य र सत्य छुट्याउन सिकौँ
मर्यादित होऔँ अनुशासित होऔँ
र शिष्टाचारको पालना गरौँ।
भ्रामक क्रोधको विनाशले नै
प्रगतिको बाटो खुलाउँछ
गन्तव्य पुग्ने सामर्थ्यले नै
मानिसलाई सभ्य तुल्याउँछ।
रोके भन्दैमा रोकिने होइन
रुवाए भन्दैमा हार मान्ने होइन
यो सुनौलो जीवनमा
निकै अगाडि बढ्नु छ,
यत्तिकै हरेस खाने होइन।
बाधा, अड्चन
र अवरोधलाई पन्छ्याउँदै अघि बढ्नु छ,
आखिर यो अनमोल जीवन
मुस्कुराउँदै व्यतित गर्नु छ!!


