![]()
कविता :- काला पखेटाको घर
✍️डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नागार्जुन-१०, काठमाडौंँ
घर नजिकै
काला पखेटाको एउटा दल
दिनहुँ बाक्लिँदै गयो ।
कहिले अम्बा र एभोकाडोको
सपनाको टुप्पामा टाँसिएर,
कहिले काँडेदार फूलका
सघन झ्याङमा लुकेर,
कहिले बिजुलीको
खाँबा र तारमा उभिएर,
जासुसी गदै थिए
हरियालीभित्रको कङ्क्रिटे बस्ती
र आकाशमा छरिएर,
हावामाथि घरको आकार कोर्दै ।
चतुर चञ्चु
केही दिनको अन्तरालमा
जीवन–यात्राको धूनमा
अन्ततः एभोकाडोको हाङ्गालाई
जीवनको सुरक्षित गन्तव्य ठान्यो ।
जीवनको गुँड
रुखको गाँठोमा कस्दै र उकास्दै गयो,
मातृत्वको मन्त्र गाँसेर
कला र कौशलताको प्रदर्शनी गर्दै
बीउको सपना फक्राउने रहरमा ।
यो दृश्यले
मेरो स्मृतिको जग हल्लायो ।
चराचुरुङ्गीले त
आफ्ना कलिला पखेटाको लागि
हावामाथि पनि घर टाँस्न सक्छ भने
आखिर मानिसले
किन आफ्ना सन्ततिका पखेटा बिसाउने
गुँड बनाउन सक्दैन ?
उनीहरू
उड्दै छन् आकाशभरि
कहिले आँसु बर्साउँदै,
कहिले मातृत्वको काख गुमाउँदै,
उज्वल भविष्य खोज्दै,
विदेशी भूमितिर ।
कागहरू
निरन्तर श्रमको पसिना चुहाउँदै,
काँकाँले मात्र होइन,
सतर्कताको सङ्खध्वनि फुक्दै
एउटाको स्वर अर्काको कवच बनाउँदै ।
जो कोही
गुँडतिर आँखा लगाउँदा
बिजुलीको झट्का बनी
शिरमा जलन बनाइदिन्थ्यो ।
आज भने
मौन छ ऊ
तर उसको गुँडमा
वंशको सभा चलिरहन्छ,
प्रशिक्षणको लहर बढिरहन्छ,
भविष्यको चित्र कोर्दै ।
भुर्र–भुर्र उडेदै बचेराहरू
कहिले जङ्गल घुम्न पुग्छन्,
कहिले आकाश चुम्न पुग्छन्,
कहिले क्षितिज नाप्न पुग्छन्,
कोही पूर्वको घामतिर
कोही पश्चिमको जूनतिर ।
एउटा प्रश्न
मेरो मनभरि जागृत भइरहन्छ,
ऊनीहरू पनि मानवका सन्तानझैँ
विदेशी आकाशमै हराउने हुन् कि ?
कि साँझमा आफ्नै गुँड सम्झी फर्कने हुन् ?


