Sabda Prabaha

Loading

कविता
जिन्दगी: एक डेरा

युवराज घलेभाइ
गान्तोक, सिक्किम
हाल : काठमाडौं, नेपाल

जमिन हुनेको जग हुन्छ
खाँबा हुन्छन् ,घर हुन्छ
नहुनेको के हुन्छ ?
मसिनो हुरीले सजिलै उडाउँछ
सिमलको भुवाजस्तो जिन्दगी हुन्छ ।

पैंचो लाउन र माग्न नपाएको बास
र ओत नभएको छानोमुनि
नरोई हाँसेर जहान परिवारसँगै
एकपछि अर्को अन्त्यहीन यात्रामा
पहिरो गएको छातीले
छोरा-छोरीलाई आशवासनको
कुम्लो बोकाएर
ठाउँ कु-ठाउँ आड खोजी हिँड्ने
रूखबाट झरेको पातजस्तो
अथवा सांसरिकताबाट विरक्त भएर
आफैलाई बिर्सी हिँड्ने
फिरन्ते झैं जिन्दगी हुन्छ ।
बल्ल -बल्ल जोडेका बट्टा-बट्टी
थाङ्ना-थाङ्नी
र केही बासी इच्छाहरू
अलिकति छोडेको माया
र पाएका गालीहरू
गमलाभित्रको किनेको माटो र बिरुवा
के नै पो हुन्छ र नहुनेको
गाह्रो हुँदो रहेछ उखेलिन आफूबाट
जराबाट जरा चुँडिन
बरु सजिलो हुँदोरहेछ
उखेलिन अरूबाट

मेरा गमलाको माटोबाट
ममताका आत्मीय आँसु
हृदयमा तप्कनी झरेर
निभाउन खोजिरहेछन्
आँतको आगोलाई
पाइला हराएपछि पैतालाबाट
पैताला उखेलिएपछि जमिनबाट
गमलाको माटो प्रेम गर्छ मलाई
म प्रेम गर्छु गमलाको माटोलाई

गमलाको जरा हुँदैनन्
जरा हुनेकै त रहेछ घर !
माटो सुँघेर आकाश हुने म
छामेर छुन सकिन आफैलाई
छोएर भेटिनँ मैले
म र मेरा कुनै अर्थहरू
म ठेगाना हराएको मान्छे
म मान्छेबाट फाँटमै हराएको मान्छे
म वतन नभएको मान्छे
म देशको नभएको मान्छे ,

निचोरेर आफू नहुनुको व्यथालाई
एक फाँक सुकाएर
आश्वासनको घाममा
जहान-परिवार छोराछोरीलाई
‘हामी होइनौं ‘को कथा नभन्दै
‘हामी छैनौं’ को-अनुभूति नगराउँदै
‘कहीँ पुग्छौं’ को प्रेरणाले
डेरा सरेको सूचना दिइरहेछु !!

भर्खरै

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top