![]()
लघुकथा: बतास चलेको त्यो रात….!
“ए उठ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका होलान् ।”आमाले दुईवटा झोला हाम्रा हातमा थमाउँदै भन्नुभयो।
मध्य जेठको एक रात ।घर नजिकैको वन कल्लेनी पाखामा आँप पाक्ने समय थियो । कान्छी सानै थिई । माइली बहिनी र म वनतिर ओरालो लाग्दा जून बादलभित्र लुकामारी खेल्दै थियो ।
“दिदी ! तिमी सिन्दुरे, दिपे ,बम्मै र जगल्टे आँप भएतिर जाऊ । म अलि पर दगुर्ने आँप पुगेर आउँछु।” बहिनीले काम भाग लगाई । “छिटो गर नि फेरि, अरू आइपुग्लान् ।”
ऊ बोल्दै दगुरी ।
आखिर जे भने पनि आज सबै आँप हाम्रै हुनेमा हामी ढुक्क थियौँ।बहिनी धेरै जाँगरिली तर म अलि अल्छी ।
सिन्दुरे आँपको बोटमुनि अँध्यारो खोल्सा थियो। हातले छाम्छुम पारेर केही दाना आँपहरू टिप्दै झोलामा राखेपछि मनमा विचार आयो, “बरु बिहानमा सबैभन्दा पहिले कुन चरा कराउँदो रहेछ थाहा पाउनु पर्यो ।” आज कक्षामा सबैलाई यो प्रश्न सोध्नुपर्छ भन्दै म कुरेर बसिरहेँ तर पनि कुनै चराको आवाज सुनिएन ।बरु “ए !दिदी आँप कति टिप्यौ ,मैले त झोलाभरि ल्याएँ ।” बहिनी हतारिँदै आइपुग्दा म झसङ्ग भएँ।
“ए… नानी! ए..! नानी छिटो घर फर्क ।” आमाले डोवाबाट अकस्मात बोलाएको सुनेर छक्क पर्दै हामी घरतर्फ उकालियौँ। हामीलाई देखेर बा र आमा यति खुसी हुनुभयो, मानौँ हामी वर्षौं हराएर आजै घर फिरेका हौँ। आमाले हाम्रो कपाल मुसार्दै भन्नुभयो, हेर त ! छोरी हो ! बाले भनेर पो थाहा पाएँ, बल्ल रातको एक बजेको रहेछ । आज पनि बादलले मलाई नराम्रोसँग झुक्कायो.. ।”
केही दिनअघि मात्रै वन चर्न गएका बाख्राहरू चितुवाले खाइदिएको घटना सम्झिँदै र कता कता डरको आभाससँगै हामी अगेनु डिलको मूली चौकामा आमाको छेउछाउमा सुत्यौँ। बिहान बिउँझिँदा बहिनीलाई नदेखेपछि मैले सोधेँ,”आमा! बहिनी खै त?”आमाको उत्तर थियो, ” ऊ त अघि नै गइसकी आँप टिप्न …।”
~ कल्पना मरासिनी
भूमिकास्थान,अर्घाखाँची
हाल : ललितपुर ।
‘बतास चलेको त्यो रात’ मेरो आँखामा
१. कथाकार परिचय
नेपाली साहित्यमा लघुकथा, कविता, मुक्तक लगायत सबैजसो साहित्यिक विधामा कलम चलाउँदै आउनुभएकी क्रियाशील स्रष्टा कल्पना मरासिनीको जन्म अर्घाखाँचीको भूमिकास्थानमा भएको हो भने हाल उहाँ ललितपुरलाई कर्मथलो बनाएर साहित्यिक यात्रामा निरन्तर अग्रसर हुनुहुन्छ। आफू अंग्रेजी साहित्यको विद्यार्थी र माध्यमिक तहको अङ्ग्रेजी विषयको शिक्षक भएर पनि नेपाली भाषा र साहित्यप्रतिको उहाँको मोह अझै चुलिँदो देखिन्छ । उहाँका सिर्जनाहरूमा विशेष गरी नेपाली ग्रामीण जनजीवनका सूक्ष्म अनुभूतिका तस्बिरहरू, क्षेत्रीय/आञ्चलिक परिवेश, सामाजिक यथार्थ, नारी चेतना र बालमनोविज्ञानको सुन्दर अभिव्यक्ति पाइन्छ। जटिलतामुक्त, सरल, सरस र आत्मीय भाषा शैलीमा कविता /कथा बुन्नु कथाकार मरासिनीको मौलिक विशेषता हो। उहाँका रचनाहरूले पाठकलाई आफ्नै मौलिक माटो र बाल्यकालका बिर्सिइएका गोरेटाहरूसँग गहिरो गरी जोड्ने काम गर्छन्।
२. विषयवस्तु तथा सबल पक्षहरूको विश्लेषण:
‘बतास चलेको त्यो रात….!’ शीर्षकको लघुकथा पनि मौलिक आञ्चलिकता र बालमनोविज्ञानको धरातलमा रचिएको एउटा सुन्दर सिर्जना हो। कथाको सबैभन्दा सबल पक्ष यसले सिर्जना गरेको जीवन्त गाउँले परिवेश हो। मध्य जेठको रात, कल्लेनी पाखा, अँध्यारो खोल्सा अनि आँपका स्थानीय प्रजातिहरू (सिन्दुरे, दिपे, बम्मै, जगल्टे, दगुर्ने) को सटीक उल्लेखले पाठकलाई सोझै पहाडी गाउँको परिवेशमा पुर्याउँछ।
कथाकारले बालमनोविज्ञानका सूक्ष्म आयामहरूलाई अत्यन्त कुशलतापूर्वक पक्रिनुभएको छ। दुई बहिनीबीचको स्वभावगत भिन्नता, बहिनीको कामप्रतिको जाँगर र दिदीको अलि अल्छी बानी, अनि आँप टिप्दाटिप्दै बिहान सबैभन्दा पहिले कुन चरा कराउँदो रहेछ भनेर कक्षाका साथीहरूलाई सोध्न कुरेर बस्ने दिदीको निर्दोष उत्सुकताले बाल्यकालको चञ्चलता र सोझोपनलाई स्पष्ट रूपमा उजागर गरेको छ। कथाको मूल घुम्ती अर्थात् आमाले आकाशको बादल र जूनको लुकामारीका कारण रातको एक बजेलाई नै बिहान सम्झेर छोरीहरूलाई वन पठाउनु र पछि भ्रम मेटिँदा झसङ्ग हुनुले कथामा राम्रो नाटकीय कौतूहल (Twist) सिर्जना गरेको छ।
३. दुर्वल तथा सुधारयोग्य पक्षहरूको सूक्ष्म
विश्लेषण
तथापि, गहन र वस्तुनिष्ठ समीक्षाका दृष्टिले हेर्दा कथामा केही प्राविधिक र संरचनात्मक सुधारका गुञ्जायसहरू पनि देखिन्छन्। लघुकथाको मुख्य मर्म र सौन्दर्य भनेकै यसको कसिलो बनोट र छोटो तर मारक अन्त्य (Punch Line) हो। यस कथामा आमाले “बल्ल रातको एक बजेको रहेछ, आज पनि बादलले मलाई नराम्रोसँग झुक्कायो” भनेर आफ्नो भुल स्वीकार गरेकै क्षणमा कथाको मुख्य कौतूहल समाप्त भइसकेको थियो। तर त्यसपछि पनि बाख्रा चितुवाले खाएको प्रसङ्ग, अगेनुको डिलमा सुतेको वर्णन र बिहान बहिनी फेरि आँप टिप्न गएको विवरण थपिँदा लघुकथाको मूल प्रभाव केही खुकुलो र छरिएको भान हुन्छ। यदि कथालाई आमाको त्यो रहस्योद्घाटनमै कसिलो बनाएर टुङ्ग्याइएको भए यसको प्रहार क्षमता अझ तीव्र हुने थियो।
यसैगरी कथाभित्र एउटा सानो मनोवैज्ञानिक विरोधाभास पनि महसुस हुन्छ। केही दिनअघि मात्रै वनमा बाख्रा चितुवाले खाएको डरलाग्दो घटना घटेको पृष्ठभूमि छ, तर मध्यरातको एक बजे कालो वनमा जाँदा ती साना बालबालिकाहरूमा सुरुमा कुनै डर वा त्रास देखिँदैन। उनीहरू एकदमै निर्धक्क भएर काम बाँडेर आँप टिप्न थाल्छन् र डरको आभास घर फर्किएपछि मात्रै हुन्छ। वनको अँध्यारो वातावरण निर्माण गर्दा सुरुमै त्रासको अलिकति साङ्केतिक अनुभूति गराइएको भए कथा अझ बढी स्वाभाविक र रोमाञ्चक बन्न सक्थ्यो। साथै कथामा ‘बा’ को उपस्थितिलाई अचानक मात्र जोडिएको छ, जसको स्पष्ट पृष्ठभूमि कथाको सुरुमा भेटिँदैन।
४. निष्कर्ष
समग्रमा हेर्दा, कथाकार कल्पना मरासिनीको यो लघुकथा बाल्यकालका पुराना मीठा स्मृतिहरूलाई ताजा गराउने एउटा सम्झनायोग्य र आत्मीय रचना हो। आमाको सादगी र भुल, छोरीहरूको सोझोपन र गाउँले परिवेशको आञ्चलिकता नै यस कथाका मुख्य गहना हुन्। अन्त्यको संरचनालाई अझ थोरै कसिलो र छोटो बनाएर ‘पञ्च लाइन’ मा टुङ्ग्याउन सकेको भए यो लघुकथा प्राविधिक रूपमा पनि एक उत्कृष्ट र मानक सिर्जना बन्ने पूर्ण सामर्थ्य बोकेको छ।
✍️योगी नारायण नाथ
इटहरी, सुनसरी


