नेपाली साहित्यका स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक तथा राष्ट्रचेतनाका युग कवि सिद्धिचरण श्रेष्ठ को ११५ औँ जन्मजयन्तीको अवसरमा ओखलढुङ्गामा सम्पन्न साहित्यिक तथा काव्य उत्सवले नेपाली साहित्यिक वृत्तमा नवीन उत्साह थपेको छ। जन्मभूमि सिद्धिचरण नगरपालिका १२ मा सम्पन्न उक्त कार्यक्रम सर्जक चौतारी ओखलढुङ्गा र सिद्धिचरण संग्रहालय समितिको संयुक्त आयोजनामा भव्य रूपमा सम्पन्न भएको हो। साहित्यप्रेमी, सर्जक, विद्यार्थी तथा…

नेपाली साहित्यका स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक तथा राष्ट्रचेतनाका युग कवि सिद्धिचरण श्रेष्ठ को ११५ औँ जन्मजयन्तीको अवसरमा ओखलढुङ्गामा सम्पन्न साहित्यिक तथा काव्य उत्सवले नेपाली साहित्यिक वृत्तमा नवीन उत्साह थपेको छ। जन्मभूमि सिद्धिचरण नगरपालिका १२ मा सम्पन्न उक्त कार्यक्रम सर्जक चौतारी ओखलढुङ्गा र सिद्धिचरण संग्रहालय समितिको संयुक्त आयोजनामा भव्य रूपमा सम्पन्न भएको हो।
साहित्यप्रेमी, सर्जक, विद्यार्थी तथा विभिन्न जिल्लाबाट आएका कविहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ जीवन्त र गरिमामय बनाएको थियो। युगकवि सिद्धिचरण श्रेष्ठप्रति सम्मान अर्पण गर्दै आयोजना गरिएको कविता उत्सवले साहित्य केवल सिर्जना मात्र नभई समाजलाई जागृत बनाउने चेतनाको माध्यम भएको सन्देश दिएको छ।
कार्यक्रमका प्रमुख अतिथि सिद्धिचरण नगरपालिकाका उपमेयर केदाबाबु बस्नेतले युगकवि श्रेष्ठले नेपाली कवितालाई आधुनिक चेतना, विद्रोही भावना र राष्ट्रप्रेमको उचाइमा पुर्याएको उल्लेख गरे। उनले “मेरो प्यारो ओखलढुङ्गा” जस्तो कालजयी कवितामार्फत ओखलढुङ्गाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म स्थापित गर्न सफल भएको बताए।
कविता उत्सवमा देशका विभिन्न स्थानबाट सहभागी भएका सर्जकहरूले युगकविप्रति श्रद्धा, प्रेम, समाजप्रतिको जिम्मेवारी तथा मानवीय संवेदनालाई आफ्ना सिर्जनामार्फत प्रस्तुत गरेका थिए। कार्यक्रममा चक्र गुरुङ, हेमन यात्री, सबिता फागो लगायतका सर्जकहरूको सशक्त सिर्जना वाचनले उपस्थित दर्शक तथा साहित्यप्रेमीलाई मन्त्रमुग्ध बनाएको थियो।
विशेष रूपमा आयोजित कविता प्रतियोगितामा झापा दमकका प्रतिभाशाली युवा सर्जक विवेक दुलाल क्षेत्री प्रथम हुन सफल भए। उनले आफ्नो प्रभावशाली प्रस्तुति, भावको गहिराइ र शब्द संयोजनमार्फत निर्णायक तथा दर्शकको मन जित्न सफल भएका हुन्। उनको सिर्जनामा समकालीन चेतना, संवेदना र साहित्यिक परिपक्वताको सुन्दर समिश्रण देखिएको सहभागीहरूले बताएका थिए।
त्यसैगरी झापाकै अर्का सशक्त सर्जक निकेश डाँगी द्वितीय स्थान हासिल गर्न सफल भए। उनको कविताले युवापुस्ताको भावनालाई कलात्मक ढङ्गले अभिव्यक्त गर्दै साहित्यिक उचाइ प्रस्तुत गरेको चर्चा कार्यक्रमभरि सुनिन्थ्यो।
काभ्रेपलाञ्चोकका प्रतिभावान् सर्जक प्रताप चौलागाईं तृतीय स्थान प्राप्त गर्दै आफ्नो सिर्जनात्मक क्षमताको प्रभावशाली परिचय दिएका छन्। सरल भाषाशैली, भावनात्मक प्रस्तुति तथा गहिरो साहित्यिक चेतनाले उनको कविता विशेष आकर्षणको केन्द्र बनेको थियो।
प्रतियोगिताका विजेताहरूलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। पुरस्कारसँगै उनीहरूले साहित्यिक क्षेत्रमा अझ सशक्त रूपमा अघि बढ्न प्रेरणा प्राप्त गरेका छन्।
सर्जक चौतारी ओखलढुङ्गाका अध्यक्ष विरेन्द्र ग्याबा तामाङले युगकविको जन्मजयन्ती केवल स्मरणको दिन नभई साहित्यिक चेतना जागृत गर्ने अवसर भएको बताए। उनले ओखलढुङ्गालाई साहित्यिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी पनि दिए।
ओखलढुङ्गा अहिले केवल प्राकृतिक सुन्दरताको जिल्ला मात्र नभई साहित्यिक पहिचान बोकेको सांस्कृतिक थलोका रूपमा पनि परिचित बन्दै गएको छ। युगकवि सिद्धिचरण श्रेष्ठको सम्झनामा निर्माण गरिएको ‘श्रष्टापार्क’ साहित्यप्रेमी तथा पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ।
कार्यक्रमको समापनमा युगकवि सिद्धिचरण श्रेष्ठको पूर्णकदको शालिकमा माल्यार्पण गर्दै सहभागीहरूले नेपाली साहित्यप्रति समर्पण र सम्मान व्यक्त गरेका थिए।
यस प्रकारका साहित्यिक गतिविधिले नयाँ पुस्तालाई सिर्जनात्मक यात्रामा प्रेरित गर्नुका साथै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।






