![]()
कविता – मरणाशौच
✍️ सुवास श्रेष्ठ
जोडजोडले भरभराउंदै चटटट गर्दै पुरै घाट उज्यालो हुने गरि दन्किरह्यो
एकोहोरो शंंख गुन्जिरह्यो
एक एक अङ्ग
अङ्ग संग्ग छुट्टिरह्यो
हतार नगर सुस्त गर
यो तेरो धर्म हो चुस्त गर
सक्दैनस बनाउन
सक्छस देखा दुरुस्त गर
हेरिरहेछ आत्मा धुंवाको ओछ्यान बाट
चीत्कार सुनिदैन अर्को दुनिया बाट
नपोल मेरो शरीर
घोप्ट्याइदे पानी
फुटाइदे शंख
भत्काइदे चित्ता
फर्की जा मलामी
उठाइदे बुर्की
टिपिदे टिला
च्यातिदे कात्रो
नाङ्गै शरिर । मुडुलो टाउको
डुंडुलै हात खुट्टा नि खाली
न हातमा थाली
के पुजा गर्छौ?
माटोको थुप्रो
ढिक्कुरो ठानि
न आंखाको आँखी भौं अझै त्यसमा शोख भरेर
सपिण्डि, सोदक, सगोत्रीको टाउको बाट मरणाशौचको भार हट्दै छ।
दशौंमा शिर मुन्डिएर
एघारौंमा खोचा बगाएर
बार्हौंमा सबै काज थन्को लगाएर
तेर्हौंमा चोखिएर
छोरा मुक्त हुन तम्तयार भएर बसेको छ
थाहा छैन बाऊले मुक्ति पायो कि पाएन।
बटारेको पिण्ड खायो कि खाएन
करमपात्रको तर्पन पियो कि पिएन
दानपात्र वस्त्र लायो कि लाएन
मानेर गाई त्यो भेटिको पुच्छर झुन्डेर
सोर्गको ढोका खुल्यो कि खुलेन
सोध्न मन छ कुनै यन्त्र भैदिए
बांधेर राख्ने कुनै तन्त्र भैदिए
हो म पनि माला जप्ने थिएं
मान्छे नमर्ने कुनै मन्त्र भैदिए


