![]()
लघुकथा :- तिम्रो यादमा
✍️हिक्मत बुढाथोकी ‘प्रेम’
आकाशमा कालो बादल मडारिएको थियो। झमझम पानी परिरहेको थियो। घरको चुहिने छानामुनि बसेर सरिता पुरानो मोबाइलको स्क्रिन हेरिरहेकी थिई। मोबाइलमा श्रीमान् दीपकको फोटो देखिन्थ्यो।
तीन वर्षअघि घरको गरिबी मेट्ने सपना बोकेर दीपक प्रदेश गएका थिए।
जाने बेला सात वर्षको छोरो रोइरहेको थियो।
“बुबा, नजानुस् न…”
दीपकले उसलाई काखमा च्याप्दै भनेका थिए—
“बाबु, अहिले जानुपर्छ। तिम्रो पढाइका लागि, तिम्रो भविष्यका लागि। म धेरै पैसा कमाएर आउँछु।”
त्यसपछि उनले श्रीमतीतिर फर्केर भनेका थिए—
“मलाई पर्खिरहनू है सरिता। अबको दशैँमा जसरी भए पनि घर आउँछु।”
त्यो “अबको दशैँ” सरिताको जीवनको सबैभन्दा लामो पर्खाइ बन्यो।
तीन वर्षसम्म सरिता हरेक साँझ फोनको घण्टी कुरेर बस्थी।
फोन आउँदा उनको अनुहार उज्यालो हुन्थ्यो।
दीपक उताबाट सधैँ एउटै कुरा भन्थे—
“अलि दुःख छ, तर केही वर्ष सहनुपर्छ। बच्चाहरूको भविष्य राम्रो बनाउँछु।”
आफू घाममा जलेको, रातभरि ओभरटाइम गरेको, बिरामी हुँदा पनि काममा गएको कुरा उनले कहिल्यै खुलाउँदैनथे।
किनकि उनलाई थाहा थियो, आफ्ना पीडा सुनाएर घरमा बसेकाहरूको मन झन् दुख्छ।
एक दिन बिहानै सरिताको मोबाइल बज्यो।
उनले खुसी हुँदै फोन उठाइन्।
तर उताबाट दीपकको आवाज थिएन।
कसैको रुँदै गरेको स्वर थियो।
“दिदी… दीपक दाइ अब कहिल्यै फर्कनुहुन्न…”
सरिताको शरीर एक्कासि निस्प्राण भयो।
मोबाइल हातबाट झर्यो।
कानले आवाज सुन्न छोडे।
आँखाले संसार देख्न छोडे।
सास चलिरहेको थियो, तर जीवन रोकिएजस्तो लाग्यो।
केही दिनपछि गाउँमा दीपकको शव आयो।
जुन बाटो हुँदै उनी सपनाहरू बोकेर परदेश गएका थिए, त्यही बाटो हुँदै उनी निर्जीव भएर फर्किए।
सारा गाउँ रोइरहेको थियो।
तर सरिताको आँखामा आँसु थिएन।
कहिलेकाहीँ पीडा यति गहिरो हुन्छ कि आँसु निस्कन पनि डराउँछ।
छोरो बुबाको शव नजिक उभिएर सोधिरहेको थियो—
“आमा, बुबा किन उठ्नुभएन ?”
सरितासँग उत्तर थिएन।
उनी केवल छोरोलाई अँगालो हालेर बेस्सरी रोइन्।
दिनहरू बित्न थाले।
तर जीवन भने निकै कठिन भयो।
घरको चुल्हो बाल्नै संघर्ष हुन थाल्यो।
छोराछोरीको विद्यालय शुल्क तिर्न नसक्दा शिक्षकले बारम्बार सम्झाउँथे।
साँझ घर फर्कँदा बच्चाहरू सोध्थे—
“आमा, बुबा हुँदा हामीलाई यस्तो दुःख किन थिएन ?”
सरिता चुप लाग्थिन्।
किनकि उनीहरूलाई कसरी बुझाउने ?
घरको खुसीसँगै घरको आधार पनि गुमेको थियो।
एक रात कान्छी छोरीले पुरानो तस्बिर निकालेर सोधी—
“आमा, बुबा भगवान्को घरमा हुनुहुन्छ भने हाम्रो याद आउँदैन होला ?”
सरिताको मन फेरि भक्कानियो।
“किन नआओस् र बाबु ? उहाँ त हरेक दिन हामीलाई हेरिरहनुभएको छ।”
छोरीले आकाशतिर हेर्दै भनी—
“त्यसो भए बुबालाई भनिदिनुस् न, एक पटक सपनामा आएर मलाई काखमा राखिदिनु भनेर…”
त्यो वाक्य सुन्नासाथ सरिता रोक्न नसकी रुन थालिन्।
किनकि उनले पनि त्यही चाहन्थिन्।
एक पटक मात्रै।
एक पटक मात्रै दीपक फर्किएर भनिदिउन्—
“सरिता, नरोऊ। म यतै छु।”
वर्षौँ बिते।
सरिताले अरूका खेत जोतिन्, घरमा सिलाइ गरिन्, भोकै बसेर पनि बच्चाहरूलाई पढाइन्।
आफ्नो दुःखलाई कहिल्यै अगाडि राखिनन्।
तर हरेक रात सुत्नुअघि भित्तामा झुन्डिएको दीपकको तस्बिर हेरेर एउटा कुरा भने कहिल्यै छुटाइनन्—
“हेरिरहेका छौ नि ? तिम्रा बच्चाहरूलाई मैले हार्न दिएको छैन।”
आज धेरै…वर्षपछि छोरा अफिसर बनेर घर फर्कियो।
उसले आमाको हात समात्दै भन्यो—
“आमा, आज बुबाको सपना पूरा भयो।”
सरिताले मुस्कुराउने प्रयास गरिन्।
तर आँखाबाट आँसु झरिरहे।
किनकि त्यो दिन उनले सबैभन्दा बढी दीपकलाई सम्झिएकी थिइन्।
सफलताको त्यो खुसीमा एउटा अभाव सधैँ बाँकी थियो—
त्यो खुसी हेर्नुपर्ने मान्छे नै त्यहाँ थिएनन्।
राति सबै सुतिसकेपछि सरिता आँगनमा निस्किइन्।
आकाशभरि ताराहरू टल्किरहेका थिए।
उनले एउटा तारातिर हेरेर बिस्तारै भनिन्—
“दीपक, तिमीले जीवनभरि घरका लागि सपना देख्यौ। सपना पूरा भयो। तर तिमीले हेर्न पाएनौ। प्रदेशले तिम्रो ज्यान मात्र लिएन, हामीबाट हाम्रो संसार पनि खोस्यो।”
त्यसपछि उनका आँखाबाट झरेका आँसु वर्षौँदेखिको पीडा बनेर जमिनमा खसे।
सायद संसारमा श्रीमान् गुमाउनु ठूलो दुःख हो।
तर त्योभन्दा ठूलो पीडा तब हुन्छ, जब आफ्ना सन्तानले हरेक खुसीमा “बुबा कहाँ हुनुहुन्छ?” भनेर सोधिरहन्छन्, र आमासँग त्यसको कुनै उत्तर हुँदैन।
त्यो पीडा शब्दले होइन, केवल एक विधवा आमाको मौन आँखाले मात्र बयान गर्न सक्छ।


