Sabda Prabaha

Loading

हाम्रो संस्कृति हाम्रो परम्परा



✍️यम प्रसाद अधिकारी

असार लाग्यो मकै पाक्यो
खोला है सुसायो
ढाकाको सारी चौबन्दी चोली
के राम्रो सुहायो।
दौरा र सुरुवाल त्यो ढाका टोपी
चटक्क परेको
घुमाउने घर चारकुने आगन
सुहाउँदीलो परेको ।
काँसको लोटा काँसको थाली
चिया पिउने बटुकी
गोडामा कल्ली छम छम गर्ने
कमरमा पटुकी ।
ढुङ्गाको जातो काठको ढिकी
मुड़ाको ओखली।
सिस्नुको खोले फर्सीको मुन्टा
गुन्द्रुकको अचार
धनीको दशै गरीबको बसाई
किसानको असार ।
दौराको तुना गलामा गल्फन
सुरवालको ईञ्जार
दुईपाने रक्सी खसीको मासु
जाड़्को निगार।
छालाको च्याब्रुङ छालाको डम्फू
छालाको मादल
साउने झरी सिमसिमे पानी
रूई जस्तो बादल।
घुमाउने घर खरको छानो
भाटाले बारेको
बाँसको खाबा बाँसकै बलो
चोयाले बाँधेको ।
घिउ राख्ने हर्पे मोही पार्ने ठेकी
दुध दुहुने दुधेरो
चौतारी छेउको भन्ज्याङ डाँडा
पानीको पँधेरो ।
झर्केको थालमा फन्के रोटी
काशका कटौरा
मकैको सातु मकैको चिउरा
दालका मसेउरा।
काठको हलो काठको जुवा
काठकै हरिस,
दालमा लसुन सागमा अदुवा
चियामा मरिच।
कोदोको ढिडो फापरको साग
मोहीको सोल्दर
सारीको आचल चोलीमा तुना
कोटको कल्दर।
फलामको छुरी फलामको तल्वार
फलामको खुकुरी
माघको महिना कन्दमुल खानु
की खानु सुठुनी।
असार पन्ध्र दही चिउरा खाने
तिजमा दहर
एक माउ गाई दुई जोरी भाले
एक हल बहर।
कसैकी आमा कसैकी आमै
कसैकी सम्धिनी
दोहोरी गीत असारे गीत
झन राम्रो संगिनी।
काक्राको खल्पी मुलाको थेबे
फापरको फुरौलो
धानको पराल कोदोको नल
दालको कुँडुलो ।
पूजाको प्रसाद दशैको टिका
विहेको कसार
सुन्तला अम्बक आरू र केला
स्वादिलो कटर।
माटोको चुलो आगो फूक्ने सोते
छेवैमा अगेना
तुलसीको मोठ पिपलको बोट
घुर्यानमा पधेना।
नौमति बाजा दिउँसोको खाजा
दालको विरौला
सिमीलाई थाग्रा माचमा ईसकुस
छानामा घिरौला।
गलामा पोते सिउँदोमा
आँखामा गाजल
आलुलाई मल सागलाई जल
सिन्कीको खाडल!

भर्खरै

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top