![]()
कथा
बारुदको आकाशमुनि हराएको बालापन
✍️ तोमनाथ उप्रेती
रात निकै लामो थियो। आकाश निदाएको थिएन। कालो बादलभन्दा पनि गाढा धुवाँले काबुलको क्षितिज ढाकेको थियो। चन्द्रमा कतै थियो। तर उसका किरणहरू बारुदको धुलोले निलिसकेका थिए। हावा चिसो थियो। तर त्यसमा शीतको सुगन्ध थिएन। जलेको इँटाको गन्ध थियो। रगतको गन्ध थियो। धातुको स्वाद थियो। मृत्युको मौनता थियो। दूर कतै कुकुरहरू लगातार भुकिरहेका थिए। त्यो भुकाइ साधारण थिएन। मानौँ उनीहरूले मानिसले नसुन्ने कुनै विलाप सुनेका थिए। कुनै अदृश्य आत्माको चिच्याहट। कुनै टुक्रिएको परिवारको अन्तिम सास। त्यसैबीच अर्को विस्फोट भयो। धरती फेरि काँपिन्। भत्किएको घरको बाँकी रहेको एउटा पर्खाल धुलोसँगै ढल्यो। आकाश फेरि आगोले रातो बन्यो। चराहरू धेरै वर्षअघि नै उड्न छोडिसकेका थिए। अब आकाशमा केवल युद्धका विमानहरू उड्थे।
दस वर्षको हमिद आफ्नो घरको भग्नावशेषको कुनामा घुँडा अँगालेर बसेको थियो। उसको शरीर धुलोले ढाकिएको थियो। अनुहारमा आँसुका रेखा थिए। तर आँसु सकिइसकेका थिए। धेरै रोएपछि आँखाले पनि हार मान्दो रहेछ। उसले आमालाई तीन दिनदेखि देखेको थिएन। बुबा त धेरै पहिल्यै युद्धमा हराएका थिए। कसैले भनेका थिए, “उनी फर्किन्छन्।” तर युद्धबाट धेरै मानिस फर्किँदैनन्। फर्किनेहरू पनि उही मानिस रहँदैनन्।
हमिदको हातमा एउटा सानो काठको घोडा थियो। त्यो उसको एक मात्र खेलौना थियो। बुबाले जन्मदिनमा बनाइदिएका थिए। घोडाको एउटा खुट्टा भाँचिएको थियो। जस्तै हमिदको बालापन। त्यत्तिकैमा अर्को विस्फोट भयो। झ्यालका बाँकी रहेका सिसा चकनाचुर भए। हमिद डरले आँखा बन्द गर्यो। उसले कान भने थुनेन। उसलाई थाहा थियो, युद्धमा कान थुनेर आवाज बन्द हुँदैन। आवाज मनभित्र पस्छ। सपनाभित्र पस्छ। आत्माभित्र पस्छ।
उसले सम्झियो। कहिलेकाहीँ यही सडकमा ऊ साथीहरूसँग दौडन्थ्यो। पतंग उडाउन सिक्थ्यो। हासो आकाशभन्दा माथि पुग्थ्यो। आज त्यही सडकमा ट्याङ्क गुडिरहेका थिए। पतंगको ठाउँमा क्षेप्यास्त्र उडिरहेका थिए। बालापनको ठाउँमा बारुद उम्रिरहेको थियो। कुकुरहरू अझै भुकिरहेका थिए। सहरभरि। लामो। निरन्तर। जस्तो संसारलाई चेतावनी दिइरहेका हुन्।
एउटी वृद्ध महिला भग्न घरतिर आइन्। उनको अनुहारमा सयौँ दुःखका रेखा थिए। आँखामा निद्रा थिएन। भोक थियो। थकान थियो। उनले हमिदलाई हेरिन्। “तिम्रो कोही बाँकी छ?” हमिदले उत्तर दिएन। कसरी दिनु? उसले आफैँलाई पनि खोजिरहेको थियो। महिलाले उसको टाउको मुसारिन्। त्यो स्पर्शमा आमा थियो। त्यो स्पर्शमा संसारको अन्तिम ममता बाँकी थियो। अचानक गोली चल्यो। महिला ढलिन्। धुलो उठ्यो। रगत बग्यो। हमिद स्थिर रह्यो। उसले चिच्याएन। युद्धले उसको स्वर चोरेको धेरै भइसकेको थियो। ऊ केवल हेरिरह्यो। जसरी ढुङ्गाले नदी बगिरहेको हेर्छ। जसरी आकाशले पृथ्वी जलिरहेको हेर्छ।
रात झन् गाढा हुँदै गयो। दूर मस्जिदको आधा भत्किएको मिनार देखिन्थ्यो। अजानको स्वर कहिल्यै आत्मालाई शान्त बनाउँथ्यो। आज त्यहाँ मौनता थियो। मौनता पनि कहिलेकाहीँ विस्फोटभन्दा ठूलो आवाज बन्छ। भोकले पेट पोलिरहेको थियो। तर भोकभन्दा ठूलो पीडा सम्झना थियो। आमाले बनाएको रोटी। बुबाले सुनाएको कथा। बहिनीको हाँसो। सबै कुरा धुवाँमा हराइसकेको थियो।
हमिदले आकाशतिर हेर्यो। उसले भगवान्लाई केही मागेन। किनकि उसलाई लाग्थ्यो, भगवान् पनि शायद युद्धको धुवाँमा बाटो बिराएका छन्। दूर फेरि साइरन बज्यो। फेरि बम खस्यो। एउटा विद्यालय ध्वस्त भयो। भोलिका सपना आजै पुरिए। किताबहरू आगोमा जले। अक्षरहरू खरानी बने। जब विद्यालय जल्छ, केवल भवन जल्दैन। एउटा राष्ट्रको भविष्य जल्दछ। एउटा सभ्यताको सम्भावना जल्दछ।
हमिद त्यही विद्यालयमा पढ्थ्यो। उसले अक्षर सिकेको पहिलो दिन सम्झियो। उसले आफ्नो नाम लेख्दा शिक्षक मुस्कुराएका थिए। आज उसको नाम कसैले बोलाउने थिएन। शरणार्थीहरूको लामो पङ्क्ति सडक हुँदै अघि बढ्दै थियो। कसैको काँधमा बच्चा थियो। कसैको हातमा औषधि। कसैको आँखामा केवल डर। देश उनीहरूसँग थियो। तर घर थिएन। पहिचान थियो। तर भविष्य थिएन।
हमिद पनि उनीहरूसँग लाग्यो। ऊ पछाडि फर्केर हेर्यो। त्यो घर अब घर थिएन। केवल इँटाको थुप्रो थियो। तर मानिसको स्मृति कहिल्यै भग्नावशेष बन्दैन। त्यहाँ उसको बालापन गाडिएको थियो। उसको पहिलो हाँसो। पहिलो सपना। पहिलो कविता। पहिलो पतंग। सबै।
बाटोभरि धुलो थियो। भोक थियो। घाइते मानिसहरूको करुण आवाज थियो। एक बालिकाले आफ्नो गुडिया समातेकी थिई। गुडियाको अनुहार थिएन। युद्धले खेलौनालाई पनि अनाथ बनाउँछ। अचानक एउटा सानो बालक चिच्यायो। ऊ आफ्नी आमालाई खोज्दै थियो। कसैले उत्तर दिएन। युद्धमा धेरै प्रश्नहरू अनाथ हुन्छन्। र उत्तरहरू पनि मर्छन्।
साँझ फेरि रातमा बदलियो। कुकुरहरू फेरि भुक्न थाले। उनीहरूलाई शायद थाहा थियो। आज पनि धेरै शव गाडिनेछन्। धेरै सपना पुरिनेछन्। धेरै बालापन समाप्त हुनेछ। हमिद एउटा भग्न पुलमुनि बस्यो। उसले आफ्नो काठको घोडालाई अँगालो हाल्यो। त्यो घोडा उसको संसार थियो। उसले बिस्तारै फुसफुसायो, “बुबा… म अझै पर्खिरहेको छु।” उत्तर आएन। केवल हावाले धुलो उडायो। र अर्को विस्फोट भयो। उसको अनुहारमा बारुदको कालो धुलो फेरि बस्यो। ऊ अब रोएन। किनकि केही पीडाहरू आँसुभन्दा गहिरा हुन्छन्।
रातको अन्तिम प्रहर थियो। पूर्वतिर हल्का उज्यालो देखिन थाल्यो। तर त्यो बिहानको उज्यालो थिएन। त्यो जलिरहेको गोदामको आगो थियो। युद्धले कहिलेकाहीँ आगोलाई पनि सूर्य बनाइदिन्छ। हमिद उठ्यो। उसका साना पाइला थरथराइरहेका थिए। तर ऊ हिँडिरह्यो। किनकि युद्धमा बाँच्नु पनि एउटा संघर्ष हो।
उसले पछाडि फर्केर अन्तिम पटक आफ्नो शहर हेर्यो। धुवाँ उठिरहेको थियो। मिनारहरू भत्किएका थिए। विद्यालय खरानी बनेको थियो। घरहरू इतिहास भएका थिए। सपनाहरू चिहान बनेका थिए। कुकुरहरू अझै भुकिरहेका थिए। मानौँ उनीहरू मानव सभ्यतामाथि अभियोग लगाइरहेका थिए।
हमिदले महसुस गर्यो, युद्धले केवल मानिस मार्दैन। युद्धले भाषा मार्छ। गीत मार्छ। हाँसो मार्छ। विश्वास मार्छ।


