Sabda Prabaha

Loading

 

समसामयिक कविता

–  लेखक बिकल्प कार्कि बुद्ध 
संखुवासभा,मकालु गाउँपालिका
हाल: नया बानेश्वर ,काठमाडौ

नानीहरू बोलेनन् तर गाउँको कथा बोलिरह्यो...!

समय बित्यो
हामी ठूला भयौँ
तर ती आमाको आवाज
आज पनि हाम्रो जीवनको बाटोमा
सबैभन्दा ठूलो सुरक्षा बनेर
हिँडिरहेको छ।
त्यसैले…
हे नेपालका आमाहरू!
तपाईंका हातमा
सायद ठूलो सम्पत्ति नहोला
तर तपाईंका शब्दमा
सन्तानको भविष्य बदल्ने शक्ति छ।

हे नेपालका बाबुहरू!
तपाईंहरू परदेशमा हुनुहुन्छ होला
तर तपाईंको पसिनाको प्रत्येक थोपा
सन्तानको सपनाको जग हो।

हे शिक्षकहरू!
तपाईंको एउटा राम्रो शब्दले
कुनै गरिब बालकको जीवन बदलिन सक्छ।

हे सरकार!
ती नानीहरूलाई
सिर्फ सामाजिक सञ्जालमा भाइरल भएको दृश्य नसम्झ
उनीहरूको बाटो बनाऊ
विद्यालय बनाऊ
शिक्षा देऊ
अवसर देऊ

यस्तो देश बनाऊ
जहाँ…
सन्तानको भविष्य बनाउन
बाबु परदेशिनै नपरोस्
छोरी विद्यालय जान
प्लास्टिक ओढ्नै नपरोस्।
आमाले छोराछोरीलाई
हिलोबाट जोगाउँदै
भविष्यको बाटो खोज्नै नपरोस्।

र हे समाज!
यदि कहिल्यै
ती तीन नानीहरू जस्तै
कुनै बालबालिका
तपाईंको बाटोमा भेटिए भने…
उनीहरूको फोटो खिच्नुअघि
उनीहरूको जीवन बुझ्नु।
उनीहरूको भिडियो बनाउनुअघि
उनीहरूको सम्मान सम्झनु।
उनीहरूको कथा सुनाउनुअघि
उनीहरूको अधिकार सम्झनु।
किनकि…
बालबालिका हाम्रो मनोरञ्जन होइनन्
उनीहरू हाम्रो भविष्य हुन्

आज…
झरी परिरहेको छ।
आकाश फेरि रोइरहेको छ।
पहाड फेरि भिजिरहेको छ।
गाउँको बाटो फेरि हिलो भएको छ।
र सायद कतै
ती तीन साना नानीहरू
फेरि प्लास्टिक ओढेर
विद्यालयतर्फ हिँडिरहेका छन्।
काँधमा झोला छ
आँखामा सपना छ
मनमा आमाको शिक्षा छ
र पाइतालामा
भविष्यतर्फको यात्रा छ।
कसैले फेरि भनिरहेको होला—
“हेलो साथीहरू…!”
सायद…
उनीहरू फेरि पनि नबोल्लान्
तर…
यसपटक उनीहरूको मौनता बुझौँ।
त्यो मौनताभित्र
एउटी आमाको माया छ।
एउटा बाबुको पसिना छ।
एउटा गाउँको पीडा छ।
एउटा देशको वास्तविकता छ।
र एउटा उज्यालो नेपालको सपना छ।
त्यसैले…
ती नानीहरूलाई
बोल्न नआएको भनेर नहेरौँ।
उनीहरूले त…
आफ्नो मौनताले
हामीलाई बोल्न सिकाएका छन्।

गरिबीविरुद्ध बोल्न
अशिक्षाविरुद्ध बोल्न
बालश्रमविरुद्ध बोल्न
असमानताविरुद्ध बोल्न
भेदभावविरुद्ध बोल्न
र हरेक बालबालिकाको
शिक्षा, सुरक्षा र सम्मानका लागि
एकजुट भएर बोल्न।

किनकि…
ती तीन साना पाइला
केवल विद्यालयतर्फ गइरहेका छैनन्…
ती पाइला
हाम्रो देशको भविष्यतर्फ
बढिरहेका छन्।

र यदि हामीले
उनीहरूको बाटो सजिलो बनाउन
सकेनौँ भने..
कम्तीमा…
उनीहरूको सपना
कहिल्यै भारी नबनाऔँ।

यदि उनीहरूलाई
ठूलो छानो दिन सकेनौँ भने
कम्तीमा
उनीहरूको टाउकोमाथि
आशाको आकाश खुला राखौँ।
यदि उनीहरूलाई
संसार जित्ने अवसर दिन सकेनौँ भने…
कम्तीमा…
उनीहरूलाई
आफ्नो बाटोमा
सुरक्षित हिँड्न दिऔँ।

किनकी
एउटा बालकको हातमा
किताब हुनु भनेको
एउटा राष्ट्रको हातमा
भविष्य हुनु हो।

र एउटी आमाले दिएको
असल संस्कार हुनु भनेको
सम्पूर्ण समाजले पाएको
अमूल्य सम्पत्ति हो।

ती नानीहरू बोलेनन्
तर उनीहरूको मौनताले
आज सिंगो नेपालसँग भनिरहेको छ—
“हामीलाई दया होइन, अवसर देऊ।
हामीलाई सहानुभूति होइन, शिक्षा देऊ।
हामीलाई ताली होइन, सुरक्षित भविष्य देऊ।
हामी हिँडिरहेका छौँ…
तिमीहरू हाम्रो बाटो सजिलो बनाइदेऊ।”

भर्खरै

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top