![]()
त्रिवेणी साहित्य मञ्च, अमेरिका द्वारा अभ्यास समूहमा आएका रचनाहरू
१)
कविता
माटो र मानव
समस्त यो जगत
आफूमाथि जरा टेकेर उभिँदा
र यति गहौँ भार धान्दा पनि
ऐया भन्दैन माटो ।
माटो आफू केही खाँदैन
तर मान्छे त्यही माटो कुल्चन्छ
त्यसकै उब्जनी खान्छ
र त्यही रुख काट्छ
जसका जरा माटो जोगाउन
चुपचाप जमिनमुनि अन्धकारमा
लहरा फिजाइरहन्छन् ।
हाम्रो पहिचान र अन्तिम सत्य
जन्मदा टेक्ने र अन्तमा बिलिन हुने
यही माटो
आफ्नो लागि नभई
अरूको लागि बनेको ।
न कोही पूजा गर्छ यसको
बनाएर यसकै उपज
फूलपाती र अक्षता
न त टीका लगाउँछ
यसैद्वारा कोरिएका
निधारका फराकिला गराहरूमा ।
आफुले टेकेका पाइलातर्फ कहिल्यै नहेरी नयाँ ग्रहतर्फ आँखा दौडाइरहन्छ
आज हर एक मानव ।
माटोकै छाती चिरेर बनाइन्छन्
राजमार्गहरू र तिनैमाथि दौडिन्छन्
मान्छेका तमाम सपनाहरू
माटोमै उम्रिन्छन् र बग्छन्
पानीका मूलहरू
बिनामाटो कहाँ जम्दो हो समुद्र ?
कहाँ टेक्दा हुन् पाइला सूर्यका
सप्तरङ्गी किरणहरूले ?
माटो बिना कसरी कोरिँदा हुन्
सीमारेखाहरू ?
आवाजविहीन तर चुपचाप सुनिरहन्छ माटो कसैको केही बिगार नगरी
जे जे गरे पनि उही नै रहन्छ
बदलामा केही माग्नुको साटो
मात्र हामीलाई दिनको लागि
बनेको माटो!!
~ कल्पना मरासिनी
भूमिकास्थान,अर्घाखाँची
हाल : ललितपुर ।
💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
२)
लघुकविता
शीर्षकः देवालय
सृष्टि देखाउने
प्रथम गुरू क ख रा सिकाउने
टुकुटुकु हिँड्ने जिउँदा देवकी-वासुदेवलाई
घरको कालो कोठरीमा बन्द गरेर
मन्दिरको घण्टा बजाएर के पायौं ?
आफ्नु छाती चुसाएर, पाखुरी बेचेर
रित्तिएर तिम्रो आवश्यकता किनिदिने
तिम्रो ओठमा मुस्कान भरिदिने
डाँडामाथिका रवि र शशिजस्तै
महामानव राधा-कृष्णलाई
भोकै, प्यासै नाङ्गै राखेर
देवालयको शङ्ख फुकेर के पायौं ?
✍️ नारदप्रसाद आचार्य ‘सुदामा’
संयुक्त राज्य अमेरिका।
💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
३)
कविता
साउने हरियाली
साउन आयो—
हरियालीको श्वास बोकेर
मेघका परेलीमा
प्रेमका थोपा सजाएर।
वनका रूखहरू
नयाँ जीवनले हाँस्न थाले
खोलाका छालहरूले
स्वतन्त्रताको गीत गाउन थाले।
हरिया चुरा हातभरि सजाएर
हरियो पोते गलामा भिरेर
सिन्दूरको रातो रङ सिउँदोमा भरेर
नारीहरू श्रद्धाले निहुरिन्छन्।
महादेवको नाम जप्दै
पार्वतीको आदर्श सम्झँदै
अटल प्रेम
र अखण्ड सौभाग्यको कामना बोकी
मन्दिरका ढोकामा दीप बाल्छन्।
पार्वतीले तपस्याले पाएको प्रेम
विश्वासको अमिट उदाहरण बन्यो
शिवको सरलता
र करुणाले
समर्पणको सन्देश संसारभरि छर्यो।
नारीका हातमा खन्किने चुराले
खुसीको लय सुनाइरहन्छ
हरियो पहिरनको प्रत्येक मुस्कानले
घर–आँगनमा शुभताको फूल फुलाइरहन्छ।
हे शिव !
हाम्रो मनमा धैर्य भरिदेऊ
हे पार्वती !
हाम्रो जीवनमा प्रेम र विश्वास जगाइदेऊ
सम्बन्धहरू सधैँ हरियालीजस्तै ताजा रहून्
मायाका डोरीहरू कहिल्यै नटुटून्।
✍️डि पी शर्मा खनाल, दैलेख
💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
४)
कविता
मौन प्रेमको उपनिषद्
मनले खोजेको सम्बन्ध
र विवेकले रोजेको दूरीको द्वन्द्वमा छु।
कालचक्रले उसलाई क्षितिजपार पुर्यायो
तर स्मृतिले अझै मेरो अन्तस्करणमा
दीप जलाइरहेको छ।
प्रेम यदि प्राप्तिको पर्याय मात्र हुन्थ्यो भने— राधाले विरहलाई आराधना बनाउने थिइनन्।
शिव केवल स्वार्थका आराध्य मात्रै हुन्थे भने— नीलकण्ठ बनी जगतको हलाहल पान गर्ने थिएनन्।
किनकि प्रेम अधिकारको अभिमान होइन,
आत्माले समर्पण गर्ने पवित्र अर्घ्य हो।
अनुराग बन्धनको शृङ्खला होइन,
आराध्यको कल्याणार्थ दीक्षित मौन साधना हो।
कुनै पावन कालखण्ड थियो—
जब दुई आत्माबीच शब्दातीत संवाद
स्पन्दित हुन्थ्यो
तब मौनताले पनि प्रेमको अमृतवाणी बोल्थ्यो।
राधाले कृष्णलाई
आफ्नो बनाउने आग्रह गरिनन्;
उनले त कृष्णको बाँसुरीमा
आफ्नै आत्मस्वरको अनुनाद भेटिन्।
त्यसैले दूरीले पनि त्यो अनुरागलाई क्षीण बनाउन सकेन,
किनकि साँचो प्रेम देहको समीपतामा होइन— चेतनाको अनन्त शिखामा जीवित रहन्छ।
सायद त्यही अलौकिक अनुरागको एउटा सूक्ष्म प्रतिबिम्ब थियो—
जहाँ प्राप्तिभन्दा प्रियको मङ्गल नै परम साध्य थियो।
जब नियतिले
जीवनको धर्मसङ्कट अगाडि उभ्यायो—
आफ्नो सौख्य रोज्ने कि उसको भविष्य?
त्यो क्षण— यस आत्माले आफ्ना समस्त आकाङ्क्षाहरू मौन वेदीमा अर्पण गर्यो,
र उसको हितलाई
आफ्नै सौख्यभन्दा माथि प्रतिष्ठित गर्यो।
परम्पराका संस्कार थिए,
समाजका सीमारेखाहरू थिए,
भविष्यका अनगिन्ती प्रश्नहरू थिए;
तर प्रेमले विद्रोह होइन—
प्रार्थना र त्यागको पथ अङ्गीकार गर्यो।
आज उनले मेरो नामको स्मृतिशेष पनि विसर्जन गरिसकेकी होलिन्,
तर म अझै उनको मौनताको परिधिबाहिर गुञ्जिरहेको एउटा अनाम प्रतिध्वनि हुँ।
कालप्रवाहले सहस्र मुखमण्डलहरू देखायो,
सहस्र ऋतुहरूले जीवनका रङहरू फेरिदिए;
तर यस आत्माको निःशब्द भाषा बुझ्ने
केवल एउटै दिव्य आत्मा थिइन्।
असंख्य आत्मसहचर जीवनपथमा भेटिए,
तर हृदयले त्यही प्रथम स्पन्दन पुनः अनुभूत गर्न सकेन।
किनकि केही आत्मीयताहरू
कालले होइन— आत्माको अक्षरले लेखिएका हुन्छन्।
आज म कुनै स्वामित्व खोज्दिनँ,
कुनै निर्दोषताको प्रमाण माग्दिनँ।
किनकि प्रेम स्वीकृतिको याचक होइन;
यो त प्रियको उत्कर्षका निम्ति
आफ्नै अस्तित्व विसर्जन गर्न सक्ने महातप हो।
यदि मेरो त्याग उसको दृष्टिमा अपराध बन्यो भने पनि स्वीकार छ।
किनकि— प्रेमको यज्ञमा एउटै मन्त्र दुईपटक उद्घोष हुँदैन।
एकपटक आत्माले जसलाई सत्य मानेर पुकार्छ,
त्यो अनुगुञ्ज युगौँसम्म
अन्तरात्माको गर्भगृहमा प्रतिध्वनित रहन्छ।
जसलाई गुमाउने कल्पनासमेत थिएन—
उसैलाई निष्कलङ्कित राख्ने सङ्कल्पमा टाढा बनाएँ।
तर पनि मेरो अन्तस्करणको ज्योतिपुञ्जमा
उसको श्रेयको प्रभा अझै अखण्ड प्रज्वलित छ।
आज पनि मेरो मौन वन्दना यही छ— ऊ मङ्गलमयी रहोस्,
ऊ ज्योतिर्मयी रहोस्।
किनकि साँचो प्रेमले प्रियलाई आफ्नो बनाउने अभिलाषा राख्दैन;
ऊ त प्रियको जीवन चिरदीप्त रहोस् भनी
अन्तःकरणले प्रार्थना गर्छ।
यही मौनता मेरो मन्त्र हो,
यही समर्पण मेरो साधना हो,
यही त्याग मेरो तप हो,
र यही प्रेम—
मेरो शाश्वत उपनिषद् हो।
✍️ दीपक भण्डारी ‘दीप’
💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
५)
कविता
भेट
बालापनमा छुटेको साथी,
जसको मुस्कानसँगै मुस्कुराउँदै
मेरो नजर परेको त्यो पल,
म कसरी व्याख्या गरौँ?
सोझोपन थियो,
टोलाइरहेको मन थियो।
आँखाहरू मुस्कुराउन पनि सकेनन्,
ओठहरू लजाउन पनि मानेनन्,
किनकि…!
तिमी मेरो साथमा छौ।
चिसो हावाको बेगसँगै,
तिमी पारी, म वारी,
वार्तालाप हेराइमै हुन्थ्यो।
हातमा किताब र
मनमा हामी दुई हुन्थ्यौँ।
हामीसँग डर थियो,
मायामा प्रशस्त भर थियो।
समयको गतिसँगै हामीलाई
एक हुल सन्तानका साथ
भेट गरायो।
तर… अहँ, म डगमगाइनँ,
किनकि…!
तिमी मेरो साथमा छौ।
✍️ रिमेन आलोक, अष्ट्रेलिया
💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
६)
गद्य कविता
जिन्दगी
जिन्दगी !
कहिल्यै पनि फूलले मात्र सजिएको
बाटो भएन
काँडाले घोच्यो
आँधीले हल्लायो
तर आशाले कहिल्यै छोडेन।
आँसु झर्दा पनि
मुस्कान लुकाएरहिँड्न सिकेँ
हारलाई अन्त्य होइन
नयाँ सुरुवात ठानेँ।
आज
मेरा घाउहरू नै मेरा
गुरु बनेका छन्,
र संघर्षहरू नै मेरो परिचय।
म
अझै हिँडिरहेकी छु
किनकि विश्वास छ-
मेरो
जिन्दगीको सबैभन्दा सुन्दर अध्याय
अझै बाँकी छ!!
-मेनुका शर्मा
दक्षिण सिक्किम
💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
७)
गद्य कविता
जागिर !
नसोचेको होइन कहिलेकाहीँ
यसो कुनै जागिर पाए खाऊँ
खै किन हो जागिरले भन्यो
यसको त नजिक जाँदै नजाऊँ
त्यसमाथी फेरि जुनसुकै जागिर
कोहि न कोहिको नोकरै हो आखिर
तलब खान भनेर सोच्यो
त्यसैले मनभित्र घोच्यो
बरु कसैको घरमा पालेको
कुकुरको सम्मान होला
हेर बिचार ख्याल होला
तर जागिरेको त्यस्तो के हुन्छ
अरूको हालत देख्दैमा मन रुन्छ
गोरुलाई मार असार साउनमा पर्छ
जागिरेलाई मार काम पाउनमा पर्छ
मालिकको तालिकामा चल्नुपर्ने सधैं
मालिक हिँड्ने कार चलाई
हामी खुइय गर्दै
सानालाई सफा सुग्घर हुन सिकाउनु छ
आफूभने धूलो मैलोमा नै नुहाउनु छ
हप्की दप्की गुनासोका सनासोले च्यापी
के लाई जागिर खानु छ र स्वाभिमान त्यागी
महिनावारी आउनुपर्ने धेरै पारी आउँछ
साहुहरू ऋण उठाउन दिनदिनै धाउँछ
विद्यालयले अर्कोतिर हात लम्काउँछ
भान्साकोठा यतै हेरि अनुहार खुम्च्याउँछ
जहानका आङ्ले पनि यतै नजर दिन्छ
कति दिन पसलेले उधारोमा दिन्छ
कापी किताब चाडपर्व सबै आँ आँ गर्छन्
कता मात्रै जागिरेले तलब कनिका छर्छन्
सरकार नामको जातले नि कहिल्यै दिन्न केही
उल्टो कर थप्दै भन्छ भोकै बस रोइ
घुस खाउँ भने लाग्छ त्यो पनि हो नाली
दायाँ बायाँ नखाएपछी सधैं खल्ती खाली
न आइदेओस् भन्या रोग अन्त जाँदै जान्न
यस्ता कुरा सम्झी लाग्छ म त जागिर खान्न
धारो बत्ती खापा भित्ता सबै पैसा खोज्छन्
यहि जागिर नि नहुनेले खै कसरी बाँच्छन्
बरु सीप सिकिकन प्रविधिको पक्ष
राम्रो जीवन हुन्थ्यो होला बन्न सके दक्ष
घुसको घेरा तोड्न खोजे परिने छ एक्लो
नातावादको नखराले तन्त्र पूरै बिग्र्यो
घुस नखाई काम गर्न मान्ने होइन कोहि
खान हुन्न भन्यो भने रिसाउँछ उही
हेरिकन हजार थरी यस्ता कथा-ब्यथा
जागिर गर्न मन भएन अब जाउँ कता??
-रामकृष्ण ढकाल
साउन ६ , २०८३
चितवन ।
💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
८)
कविता
तिमी शहरमा र म बस्तीमा हुर्केको !
सानु, तिमी र ममा धेरै फरक छ नि है
तिमी शहरमा जन्मिएकी
शहरकै रमझममा हुर्की खेली बढेकी
बोर्डिङ स्कुलमा पढेकी
म बस्तीको सानो गाउँमा जन्मिएको
गाउँका उकालो ओरालो गोरेटोहरूमा
लड्दै- पड्दै धुलोसँग खेल्दै
गाउँकै प्राथमिक विद्यालयमा पढेको
सानु तिम्रो र मेरो उमेरमा त्यति धेरै
फरक त छैन तर तिम्रो र मेरो
सोच विचारमा धेरै फरक पाएँ
तिमी शहर मन पराउँछ्यौ
शहरका ठूला ठूला कोठीमा
बस्न मन पराउँछ्यौ
दिनभरि टिलिक्क टल्केको गाडीमा
सफर गर्छ्यौ
तिम्रो त्यो हाते झोला
धेरै पैसाले भरिएको हुन्छ
म भने गाउँको बाँस र चिमले बारेको
सानो घरमा बस्ने गरेको छु
बिहानीको उज्यालोमा
कालो चिया सुरुप्प पिएर
दिनभरि घाँस-दाउरा गर्दै बित्छ
मेरो त्यो पाइन्टको छेन्द्रा छेन्द्रा परेको गोजीमा पैसा होइन
चुरोटका ठुटा र लाइटर मात्र हुन्छ
सानु, तिम्रो र मेरो मन मिले पनि के गर्नु
तिमी गाउँको वातावरण झेल्न सक्दैनौ
म शहरको रमझम र होहल्लामा
मन अड्याउन सक्दिनँ
त्यसैले त सानु,तिमी शहरमा जन्मिएर हुर्केकी म बस्तीमा जन्मिएर हुर्केको
सायद यही कारणले
हाम्रो मिलन हुन सकेन है सानु !!
-बिधुत गुरूङ , गोरुबथान
💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
९)
कविता
हराउँदै गएको बाल्यकाल
आधुनिक युगको व्यस्त
जीवनशैली हेर्दा,
तनावमै बाँच्न बाध्य
मानिसको दैनिकी देख्दा,
आधुनिक उपकरणको
अत्यधिक प्रयोगसँगै
मान्छे–मान्छेबीचको दूरी
बढ्दै गइरहेछ जस्तो लाग्छ।
परिवारबाट टाढिँदै
गइरहेका मानिसहरू,
र नानीहरूको
बाल्यकाल नै कसैले चुपचाप
खोस्दै लगेझैँ लाग्छ।
आधुनिक शिक्षाको भारी बोझ
सानै उमेरमा
उनीहरूको काँधमा
थोपारिएको देख्दा
मन अझै भारी हुन्छ।
बाजे–बजैको माया,
उनको छाया
र कथाभित्रको संसारबाट
नानीहरू टाढिँदै
गइरहेका छन् जस्तो लाग्छ।
राम्रो रोजगारी
र उज्यालो भविष्यको खोजीमा
मानिस शहर पस्छ,
तर सन्तानलाई दिनुपर्ने
समय भने कतै छुटिरहेछ।
न त नानीहरू
गाउँझैँ स्वतन्त्र भएर
साथीसँग खेल्न पाउँछन्,
न त बाजे– बजैहरू
शहरको कोलाहलमा
रमाउन चाहन्छन्।
यस्तो अवस्था देख्दा
हाम्रो समयको
त्यो बाल्यकाल
झनै सुन्दर लाग्छ।
न ठूलो सपना थियो,
न ठूलो पढाइको बोझ,
खाना, लगाउने लुगा
र खेल्न खुला आँगन
पाए पुग्थ्यो।
परिवार एकै ठाउँमा
बस्नुको आनन्द
नै अलग हुन्थ्यो।
आमाको गाली,
बाबुको लठ्ठी,
र बाजे– बजैको
आड लिएर लुक्नु,
उनको मुखबाट
पुराना कथाहरू सुन्नु
सबैको स्वाद
अलग हुन्थ्यो।
टाढाका आफन्तको
चिठ्ठी आउँदा
आमालाई पढेर सुनाउँदाको
खुसी पनि बेग्लै हुन्थ्यो।
चाडपर्व नजिकिँदा
बाजेले ढुसी लागेको
मादल घाममा सुकाउँदै,
तातो छालामा चुड्के ताल दिँदा
गाउँ नै संगीतमय हुन्थ्यो।
आज ती दृश्य
कतै हराएझैँ लाग्छन्।
मानिस आधुनिक बन्दै
मोबाइलको संसारमा
हराइरहेका छन्,
आफ्नै संस्कृति
बिर्सँदै गइरहेझैँ लाग्छ।
धेरै कमाउने होडबाजीमा
परिवारको मूल्य
बिस्तारै घट्दै गइरहेछ
जस्तो लाग्छ!!
✍️नम्रत प्रधान
तकदाह, दार्जिलिङ ।
💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
१०)
कविता
… किनकि ऊ परदेश जाँदैछ !
एउटा शरीर थाकेर
हामीबाट परदेशमा जाने तयारीमा छ
न आफन्तले रोक्न सक्छ
न साथीभाइले छेक्न सक्छ
उसले अब तिमी र मलाई चिन्दैन
उसले चिन्छ त केवल
परदेशका सबै नयाँ आफन्तहरूलाई
यसैले उसलाई लैजान
उसको आफन्तहरू
वरिपरि भेला भैसकेका छन्
न तिमीले देख्न सक्छौं
न मैले देख्न सक्छु
ऊ पनि त अब
केही नबोली जाने तयारीमा छ
हामी सबैको अघिबाट
परको नयाँ देश
नयाँ संसारमा
सायद ऊ कति आनन्दित
र सन्तुष्ट होला नि
किनभने उसले आफ्नो अघि पछि
परीहरूको साथ पाएको होला
ऊ कति रमाएको होला
नयाँ देशमा
यसैले त-
ऊ हामी सबैसँग अब कहिले बोल्दैन
हतारमा छ
ऊ हामीबाट पर हुनलाई
त्यसैले ऊ मधुर मुस्कानमा चुपचाप छ
अब ऊ हामीसँग कहिले भेट्दैन
ऊ हामीसँग अब कहिले बोल्दैन !!
-निमा छिरिङ भोटिया
जलढाका ,कालेबुङ ,भारत ।
💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
११)
कविता
अँधेरी रात !
अँधेरी रात-
तिम्रो कालो आँचलमा
अनगिन्ती ताराहरू
आशाका अक्षर बनेर टल्किरहेका हुन्छन्।
मौन आकाशले
कतिका अधुरा कथाहरू
आफ्नो छातीमा लुकाएर बसेको हुन्छ।
यही रातमा
दिनभरि हाँसेका अनुहारहरू
आफ्ना आँसुहरूसँग भेट्छन्।
मनका बन्द झ्यालहरू खुल्छन्,
सम्झनाहरू हावाजस्तै भित्र पस्छन्,
र एक्लोपनले
आफ्नै नाम बिस्तारै उच्चारण गर्छ।
रात कहिल्यै अँध्यारो मात्र हुँदैन,
उसले ताराहरू पनि जन्माउँछ,
चन्द्रमालाई पनि सजाउँछ,
र हराएको आशालाई
फेरि उज्यालोतर्फ डोर्याउँछ।
त्यसैले म अँधेरी रातसँग डराउँदिनँ।
किनकि मलाई थाहा छ-
सबैभन्दा गाढा अँध्यारोको गर्भबाटै
सबैभन्दा उज्यालो बिहानी जन्मिन्छ।
र प्रत्येक बिहानीले
रातको मौन तपस्यालाई
आफ्नो पहिलो किरणले
प्रणाम गरिरहेको हुन्छ।
-सतीश पण्डित
भानु६ चुँदी, तनहुँ
हाल चनपा ६, मातातीर्थ
💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
१२)
कविता
शीर्षक : छाता
जीवनमा पानी पर्दा सधैँ
छातीभित्र टाँस्दै
साथमा छाै तिमी
मलाई चर्काे घाम लाग्दा
छाया भयाै तिमी
बाबा घाम र पानी छेक्ने
मेराे छाता हाै तिमी ।
मेरा साना हत्केलामा
तिम्राे चाेर औंला घुसारी
ताते ताते हिँड्न सिकाउने
मेराे ताते बाेलीमा जिस्काउँदै
मलाई नै हसाँउने
बाबा मेैले उकालाेमा टेक्दै हिँड्ने
छाता हाै तिमी ।
मेराे सफलताकाे गाेरेटाेमा
कति बाधा आए
कति वैरीले तर्साए
बाबा मेराे खुट्टा तान्ने
दुश्मनलाई हिर्काउने
मेराे छाता हाै तिमी ।
नीला खुला आकाश मलाई देखायाै
चरा जस्तै स्वतन्त्र उड्न सिकायाै
बाबा आफैलाई समेटेर मलाई फुकाउने
मेराे छाता हाै तिमी ।
-सुनिता निरौला पौडेल
राधे राधे, निकोशेरा ,भक्तपुर ।
२०८३- ०४ – ०७ गते ।
💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
१३)
कविता
म गर्व गर्छु!
नेवा भै जन्मिएकोमा मलाई गौरव लाग्छ
अन्तर हृदयदेखि नै जाेस सहजै जाग्छ
सुन्दर फूलबारीमा अनेकौंँ फूल फूलेसरी
नेवा पनि छौ हामी यही धरतीमा थरीथरी।
आफै पनि नेवा भएकोमा आज गर्व गर्छु
आफ्नै भाषा संस्कृतिकाे सधैँ भर पर्छु
किनकि भेषभुषा आफ्नै छ वास्तवमा हाम्रो
मलाई आफ्नै मातृभाषा प्यारो लाग्छ अनि राम्रो ।।
नेवा भएकोमा सधैँ म गर्विलाे ठान्छु
हरेक मेरो पुर्खाहरूलाई भगवान् मान्छु
किनकि बनाएको छ आफ्नै भाषा लिपी
सीप छ अनगिन्ती बनाउँछ हरेक सामान खिपी ।
गौरव गर्छौँ विश्वमा नेवारकाे पहिचान दिन पाउँदा
आनन्द लाग्छ देश विदेशबाट सिर्जना र सीप हेर्न आउँदा
छ हाम्रो आफ्नै परिवेशकाे अपार भाषा संस्कृति
मनाउँछौ विभिन्न चाडपर्व तर पनि छैन त्यस्तो विकृति ।
बसेका छौं हामी ब्यापार व्यावसायमा हिमाल पहाड तराई
त्यसैले त ठान्दैनौ नेवा समुदाय काेही कसैलाई पराई
नेपाल आमाको काखमा हाँसी-हाँसी बाँचेका छौं
मेचीदेखि कालीसम्म सबैमा माया प्रिति गाँसेका छौँ ।
म आफै नेवा जाती भएकोमा गर्व गर्छु
पुर्खाकाे नासाे हाम्रो परम्पराकाे संरक्षण गर्छु
त्यसैले त खुसी लाग्छ नेवा भै जन्मिएकाेमा सधैँभरि
बाँचेका छौ आजसम्म खुसीसाथ परिश्रम गरि।।
-राज कुमार राजभण्डारी खाेटाङ्गे
ऐसेलुखर्क ३, खाेटाङ ,हाल :भक्तपुर ।
💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
१४)
कविता
परदेशबाट
नवराज न्याैपाने ‘माैन’
( मन्दाक्रान्ता छन्द)
मेरी माया हृदयतलमा बस्दछ्याै सम्झनामा
बाेकी भारी विकट बनमा बग्दछ्याै तिर्सनामा
छाडी आएँ प्रकृति वनिता शान्त नेपाल मेराे
खाडी आएँ हर बखत याे जिन्दगानी अँधेराेे
पैसा भन्दै सबतिर कुँदे मात्र ऐश्वर्य प्याराे
हाँस्ने खेल्ने रहर मनकाे बन्छ जम्मै उधाराे
हेर्छ्याै टाढा नयन रसिला चाड वा पर्व अाए
खल्लाे लाग्ला शयनतलमा साथ मेराे नपाए
बाबा आमा शिथिल वयमा सम्झिदा हुन् मलाई
छाेराछाेरी शिशुवय झनै खेल्न थाले रमाई
बाँझाे बारी हरित सपना आज बाेकेर रुन्छ
बेसाहाले कति दिन यहाँ जिन्दगी स्वस्थ हुन्छ
माटाे राम्रो तरल सरिता कल्कलाएर बाेल्दा
बाटाे राम्राे हिमगिरि हुँदै नागबेली छिचोल्दा
मान्छे हुन्छन् विविध रङका भावना भाव नाैला
पर्खे प्यारी दिलखुश हुँदै वस्त्र नाैला किनाैंला
ज्यूने मान्छे सघन हरिया फाँटमा मस्त हुन्छ
प्यूने मान्छे ढलपल गरी चाेटले त्रस्त हुन्छ
राम्रा राम्रा इलम नसिके जिन्दगी शून्य हुन्छ
आफ्नाे प्याराे मुलुक बनिए काम नै पुण्य हुन्छ
नाैला नाैला प्रचलन भए लाेक संस्कार अर्काे
पाका पुस्ता विचलित भए सम्झँदा लाग्छ झर्काे
नेपाली हाे श्रम बल सबै देशमा खर्चिने कि
भन्दा प्यारी नयन भरिए साेच नाैलाे लिने कि !
ठेगाना: भानु नपा ५, चुँदी, तनहुँ
💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
१५)
कविता
म त तिम्रै ढुकढुकीमा छु !
मलाई टाढाको नसम्झ, हे मेरो मातृभूमि!
जतिसुकै फराकिला महासागरहरू तरेर
म टाढा पुगे पनि,
जतिसुकै उँचो आकाश नापेर मेरो पैताला भौँतारिए पनि
म तिम्रो छातीबाट चुँडिएर
अर्कै ग्रहमा पुगेको छैन।
नदीले किनार छोडेर सागरतिर लम्किँदैमा
के उसले आफ्नो मुहानको
मातृत्व भुल्न सक्छ र?
म त तिम्रै कोखको माटोबाट सिर्जित
त्यो अङ्कुर हुँ,
जसको हरेक धड्कनमा आज पनि
तिम्रै माटोको सुगन्ध छ।
के म बिर्सन सक्छु र ती दिनहरू?
जहाँ मेरो बाल्यकाल तिम्रा पाखा-पखेराहरूमा मुस्कुराएको थियो।
तिम्रा हिमाली काखहरूमा झुल्कने
सुनौलो घाम,
हरियाली डाँडाहरूमा गुञ्जने देउरालीको भाका,
र तिम्रो काखमा सुस्ताउँदा मिल्ने
त्यो असीम तृप्ति…
त्यो मिलन, त्यो सामीप्य केवल दृश्य थिएन,
त्यो त मेरो अस्तित्वको पहिलो
र अन्तिम पहिचान थियो।
तर विवशताका काला बादलहरू
एकाएक मडारिए।
आफ्नै मातृभूमिको आँगनीमा जीवन अड्याउने धरातल साँघुरिएपछि,
अभाव र बाध्यताको निष्ठुरी आँधीले
मलाई दूरदराजको यो बिरानो धर्तीमा
बजारेर फ्याँकिदियो।
यो विछोड कुनै रहर थिएन,
यो त मुटुमा आगोको भुङ्ग्रो
बोकेर हिँड्नुपर्ने एउटा क्रूर नियति थियो।
मलाई थाहा छ।
आफ्नो सन्तान टाढिँदा तिम्रो छाती
कसरी चिरियो होला,
र यहाँ, तिमीभन्दा टाढा रहँदा मेरो आत्मा कसरी प्रतिपल क्षत-विक्षत भइरहेछ!
तर, हे मेरो जन्मभूमि!
यो भौगोलिक दूरीलाई नै मेरो पराग मान्ने
भुल नगर,
मलाई टाढाको नसम्झ।
म त तिम्रो नक्साभन्दा बाहिर भेटिने
कुनै बिरानो छाया होइन,
म त तिम्रै इतिहास, तिम्रै माटो र तिम्रै चेतनाको एउटा अजम्बरी अंश हुँ।
जब-जब तिम्रा डाँडाहरूमा
सिरसिर चिसो हावा चल्छ,
सम्झिनु, त्यो मेरो छातीको गहिरो निसास हो।
जब तिम्रा नदीहरू सुसाइरहन्छन्,
सम्झिनु, त्यो मेरो आँखाबाट बगिसकेको
तर मुटुमा अड्किएको अश्रुधार हो।
र जब तिम्रो छातीमा कसैले चोट पुर्याउँछ,
यहाँ दूरदराजमा मर्नुपर्ने पहिलो म नै हुन्छु!
हामी भौतिक रूपमा अलग्गिएका हौँला,
हाम्रा बीचमा देशका सीमानाहरू
र विशाल समुद्रहरू उभिएका होलान्,
तर मेरो आत्माको जरा अझै पनि तिम्रै गहिराइमा गाडिएको छ।
म जहाँ छु, जे छु।
मेरो चेतनाको अन्तिम बिन्दुसम्म
केवल तिमी र तिम्रै प्रेम छ।
त्यसैले,
मेरो अनुपस्थितिलाई मेरो बेवास्ता नसम्झ।
आफ्नो माटोमा कान राखेर सुन्ने कोसिस गर।
म कतै गएकै छैन,
म त तिम्रै हरेक धुकढुकीमा,
तिम्रै हरेक सासमा अझै जीवित छु।
मलाई टाढाको नसम्झ, मेरो देश…
म त केवल तिम्रै काखमा फर्कने
अन्तिम गोधुलीको पर्खाइमा छु!!
-भोज विवस मगर
गैंडाकोट -३ नवलपरासी पूर्व
💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
@highlight


