![]()
त्रिवेणी साहित्य मञ्चको साप्ताहिक अभ्यास अन्तर्गत आइतबारीय बसाई मुक्तक अभ्यास कार्यक्रममा सहभागी सम्पूर्ण मुक्तककारज्यूहरूमा हार्दिक बधाई तथा शुभकामना !
तपाईँहरूको सिर्जनात्मक साधना, साहित्यप्रतिको समर्पण, उत्साहप्रद उपस्थिति र निरन्तर अभ्यासले नेपाली मुक्तक साहित्यलाई अझ समृद्ध, सशक्त र उर्जावान् बनाओस्। कलम सधैँ जीवन, समाज र मानवीय संवेदनाको पक्षमा निरन्तर चलिरहोस्। आगामी दिनहरूमा अझ उत्कृष्ट सिर्जना, उच्च साहित्यिक सफलता तथा निरन्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
-डि पी शर्मा खनाल
मुक्तक प्रशिक्षक
१)
मुक्तक
ज्ञानको दीप बाल्न सिकाउने गुरु हुनुहुन्छ
अन्धकार चिर्ने बाटो देखाउने गुरु हुनुहुन्छ
अक्षर–अक्षरमा जीवनको अर्थ बुझाउँदै,
सपनाहरू सजाउन लगाउने गुरु हुनुहुन्छ ।
✍️डि पी शर्मा खनाल, दैलेख
२ )
मुक्तक
क-बाट सुकर्मको ज्ञान–चक्षु दिलाउनुहुन्छ गुरु
ख-बाट तमोमय अवस्थाबाट बिउँझाउनुहुन्छ गुरु
अब यस्ता महामानवलाई अक्षुण्ण सम्मान गरौँ,
ग-बाट गएगुज्रेकालाई सुपथमा हिँडाउनुहुन्छ गुरु ।
— नारदप्रसाद आचार्य ‘सुदामा’
संयुक्त राज्य अमेरिका
३ )
मुक्तक
दुःखमा मात्र मनले प्रभु रोजिन्छ किन
निजी स्वार्थमा दुष्टको पाउ ढोगिन्छ किन
हुनेछ वन्दना फलिफाप आज सूर्यको,
प्रभु कृपाबिना सफलता रोकिन्छ किन ?
कार्की डिबी माकुम,सुनवल-४, नवलपरासी
४ )
मुक्तक
नेपाल र नेपालीहरूकाे विरुद्धमा हात
नलम्काओस् कसैले भन्दै धर्म, जात
पशुपति र प्रकृतिलाई नजिस्क्याऊ कोही,
नत्र दशा आफैँ आई हान्ला वज्रलात ।
— रामकृष्ण ढकाल
१७ साउन २०८३
चितवन
५ )
मुक्तक
बाध्यताका पहाड छिचोल्दै गन्तव्य भेट्दै जानुछ
बाटोका छेकबारहरू छुराको धारले रेट्दै जानुछ
जीवनको जरुरी पक्ष दुःख त सबैको भागमा छ नै,
भागको दुःख व्यहोर्दै मनका तिर्सना मेट्दै जानुछ ।
ऋषिराम भुसाल
गुल्मी मदाने हाल काठमाडौँ।
६ )
मुक्तक
सधैँ शिरमा सजाउनुपर्छ ज्ञान गुरुको
बिहान–बेलुका सधैँ गरौँ ध्यान गुरुको
आमा, बुबा र शिक्षक सबै गुरु हाम्रा,
गाउनुपर्छ सधैँभरि गुणगान गुरुको ।
✍️ रिमेन आलोक, अष्ट्रेलिया
७)
मुक्तक
भोलिको बाटो रेख्ने गुरु हुनुहुन्छ
पत्थरमा हीरा देख्ने गुरु हुनुहुन्छ
जति दिऊन् काँडा ! शिष्यहरूले,
बदलामा फूल लेख्ने गुरु हुनुहुन्छ ।
✍️ वसन्त अनुभव
वसन्तविहार
८ )
मुक्तक
प्रत्येक आफ्नो शब्दहरूमा डुलिरहन्छु
बिताएका पलहरूसँग आफैँ भुलिरहन्छु
तिमीले नाता तोडे पनि केही छैन प्रिय,
काँडाकै बीचमा भए पनि म फूलिरहन्छु ।
शब्दयात्री लम्साल
लम्सु,दैलेख
९ )
मुक्तक
बिनाकारण मन्दिर धाएर के पाउँछन् होला
मन साट्नेले कसम खाएर के पाउँछन् होला
सुन ! जब यहाँ प्रेम सम्बन्ध गाढै छैन भने,
हातमा मेरो नामको मेहन्दी लगाएर के पाउँछन् होला । -प्रशंसा तामाङ
खाँडादेवी गाउँपालिका -८, रामेछाप
१० )
मुक्तक
बाल बोलीको लोलीसँगै निरन्तर बहनुपर्छ
प्राणवायु र अपानवायु सबथोक सहनुपर्छ
थुक-सिँगान सहेर चेत खोल्ने गुरुको मर्यादा,
हमेसा आफ्नै बाआमाको स्थानमा रहनुपर्छ l बाबुराम गौतम, गुल्मी
११ )
मुक्तक
तृष्णाको पीडामा एउटा प्यासी पक्का खोला धाउँछ हजुर
कहालीलाग्दो रात चिर्दै देहमा पक्का उज्यालो आउँछ हजुर
जिन्दगीमा अटुट साहस र आत्मविश्वास राखी अघिबढे,
यो प्रकाशाभिमुख धरामा पक्का प्रीतिले गीत गाउँछ हजुर ।
✍️तोयानाथ चापागाईं
दमक,झापा,नेपाल
१२ )
मुक्तक
तिमीले छोडेदेखि नै मुस्कुराउन छोडेको छु
तिम्रो जन्ती, मेरो मलामी जुराउन छोडेको छु
सयौँ जुनी सँगै जिउने वाचा–कसम तोडेपछि,
आफैँ बनेर जिउँदो लास, जुरमुराउन छोडेको छु ।
— क्षितिज बिरु राना
वनगाड कुपिण्डे नगरपालिका–३, बडापोखरा, सल्यान
१३ )
मुक्तक
एउटाको चिट्ठीमा अर्कै व्यक्तिको खाम भएपछि
मेरो हृदयमा सधैँभरि तिम्रो मात्रै नाम भएपछि
हुलाकीको गल्ती होइन छापामारको डर हुन्थ्यो,
संकटकालमा गाउँ शहरमा छलछाम भएपछि ।
✍️पुरुषोत्तम फुयाल
सुन्दरहरैँचा न. पा.-२, मोरङ
१४ )
मुक्तक
तिमीलाई धोकेबाजको नाम पनि दिन सक्दिनँ
दिएकै छाै धोका त्यसलाई पनि बिर्सिन सक्दिनँ
टुक्रै–टुक्राहरू समेटेर सजाएको यो मुटुलाई,
तिमीले टुक्रा बनाउँदा नि भुल्न किन सक्दिनँ ?
✍️ लोकेश बम ठकुरी
१५ )
मुक्तक
आमाको काखभन्दा ठूलो कुनै दरबार हुन्छ
बुवाको काँधभन्दा बलियो कुनै आधार हुन्छ ?
देशका लागि मर्न सक्ने हृदय भाग्यमानी हो,
जसको छातीमा मातृभूमिको सधैँ प्यार हुन्छ ।
सतीश पण्डित
भानु-६, चुँदी, तनहुँ
हाल : चनपा-६, मातातीर्थ
१६ )
गुरु पूर्णिमा विशेष मुक्तक
बोली–व्यवहार असल राखी सधैँ जीवनभरि,
जिन्दगीमा निकृष्टता पूर्ण रूपमा त्याग गरी
ज्ञान पनि त्यस्तै दिने हुन्छन् सच्चा गुरु,
समाजमा मान्य हुँदै ब्रह्मा–विष्णु–रुद्रसरि ।
✍️ रामकृष्ण ढकाल
१३ साउन, २०८३
चितवन
१७ )
मुक्तक
अज्ञानीलाई ज्ञानगुनको कुरा बुझाउने गुरु हुन्छ
शिष्यलाई दया र मायाले सुमसुमाउने गुरु हुन्छ
कठिन यात्राहरूलाई हिम्मत हार्दै नहारी सहजै,
सफलताकासाथ शिखरहरू चुमाउने गुरु हुन्छ । राज कुमार राजभण्डारी खाेटाङ्गे खाेटाङ ऐसेलुखर्क ३ हाल भक्तपुर
१८ )
मुक्तक
अन्धकार चिर्दै उज्यालोतिर डोर्याउने गुरु हुन्
हराएको आत्मविश्वास फेरि जगाउने गुरु हुन्
पुस्तकका पानाभन्दा धेरै गहिरो पाठ दिएर,
सिङ्गो जीवन सुन्दर ढङ्गले सजाउने गुरु हुन् ।
सतीश पण्डित
भानु-६, चुँदी, तनहुँ
हाल चनपा-६, मातातीर्थ
१९ )
मुक्तक
यो ईश्वरीय देन हो उदाएर जान्छ
पूरा भाग्य आफैँ समाएर जान्छ
आउँछ मान्छे आउँदा आफू रुँदै,
जाँदा दुनियाँलाई रुवाएर जान्छ ।
- विकल ‘आर्त्त’
२० )
मुक्तक
तिमी धर्ती हौ भनेर टेकेका हुन्छन्
जुन धर्तीबाट आकाश देखेका हुन्छन्
अझै पनि यी पुरुष भनाउँदाहरूले,
कमजोर ठानेर नारीलाई हेपेका हुन्छन् ।
रुक्मणी क्षेत्री
बझाङ
२१ )
गुरु विशेष मुक्तक –
अन्धकार हटाएर ज्ञानको उज्यालो छर्ने गुरु हुन्
भुलभुलैया यो संसारमा सही विधा भर्ने गुरु हुन्
ढुङ्गाजस्तो हाम्रो जीवनलाई कलात्मक मूर्ति बनाई,
अतः अज्ञानी जीवनको डुङ्गालाई पार गर्ने गुरु हुन् ।
ध्रुव खड्का
फेदीखोला १, स्याङ्जा
२२ )
मुक्तक
जुन आकाशको ओट लिन्छौ तिमी
त्यसैको मान छोट सम्झिन्छौ तिमी
आकाश बिना धर्ती बन्जर हुने कुरा,
जान्दाजान्दै पनि खोट दिन्छौ तिमी ?
बाबुराम गौतम, गुल्मी
२३ )
मुक्तक
अज्ञानता हटाएर ज्ञानको ज्योति फैलाउने हुन् गुरु
अक्षर अक्षरको दीप बालेर बाटो देखाउने हुन् गुरु
गुरुको वर्णन गर्न मलाई कुनै शब्दले पर्याप्त छैन,
मानिसलाई मानिस भएर बाँच्न सिकाउने हुन् गुरु ।
लक्ष्मी रेग्मी ‘ शब्दयात्री ‘
उर्लाबारी, मोरङ
२४ )
मुक्तक
तनभित्रै छ सारा ब्रम्हाण्ड साधनाले जगाउन सकियोस्
मूलाधारबाट नै संसारमा ईश्वरीय चेतना बगाउन सकियोस्
हेर्नुहोस् ईश्वर खोज्न कतै टाढा भौँतारिनु पर्दैन मित्र,
अन्तरमनको ज्योति बालेर अज्ञानता भगाउन सकियोस्।
अम्बिका धिताल
२५ )
मुक्तक
के छ त नि तिम्रो खबर ? सुनाएर जाऊ
मनभरिको पीडाको भारी बिसाएर जाऊ
बुझ्नुपर्नेले बुझ्दैन, सुन्नुपर्नेले सुन्दैन यहाँ,
भएका दुःख–पीरलाई नेटो कटाएर जाऊ ।
सूर्य गाहा मगर
स्याङ्जा
२६ )
मुक्तक
फूल जति झरिसके रित्तो बोट छ अब
आशा सबै मरिसके निराशाको चोट छ अब
ओइलिएर झर्नु थियो त मन-मन्दिरमा किन फुल्यौ,
माली थिए फूलबारीको केवल खोट छ अब ।
भुपाल वि.क. वैरागी
सोलुखुम्बु
हाल : क्षितिज पारी दुबई जेबेल अलि
२७ )
मुक्तक
मनमा आगो, आँखामा भेल नभएकै राम्रो
छिमेकीलाई हँसाउने खेल नभएकै राम्रो
ए खुसी ! तिमी बिछोडिएर टाढा जाने भए,
मुटु रेट्ने केही क्षणको मेल नभएकै राम्रो ।
मिना मल्ल
बझाङ बुङ्गल
२८ )
मुक्तक
हातभरि फूलको गुच्छा लिएर प्रतीक्षा तिम्रै छ प्रिय
दिनरात बिछोडकाे आँसु पिएर प्रतीक्षा तिम्रै छ प्रिय
जीवनका तीता-मिठा सम्झना ती पल बटुल्दै फेरि,
पीडामाथि झुटाे मुस्कान दिएर प्रतीक्षा तिम्रै छ प्रिय ।
✍️ हिरा बुढा मगर ‘अमृत’
शारदा नगरपालिका–१४, सल्यान
२९ )
मुक्तक
आमा बाबालाई छोडी परदेश जाँदैछु
छातीभरि दिएको माया बोकी लाँदैछु
जानुछ स्वदेश छोडी धेरै टाढा,
पानीमा रोटी भिजाई एक्लै बसी खाँदैछु |
बिधुत गुरूङ गोरुबथान
३० )
मुक्तक
गुरु र चेलाकाे सम्बन्ध नङ र मासुजस्तै हाे
टुटी गए मार्गदर्शन झरीजाने आँसुजस्तै हाे
आफूभन्दा अब्बल छन्, दिन्छन् ज्ञान खास,
संघर्ष गरिसकेको हुन्छ बुहारी सासूजस्तै हाे ।
कल्पना राई वेदना
३१ )
मुक्तक
आफू सिकेर सिकाउन अघि सर्नुपर्छ
समाजमा शिक्षाको ज्योति छर्नुपर्छ
भगवान् सरह आमाबुबा र गुरुहरूलाई,
अनादर गर्नुहुन्न हामीले आदर गर्नुपर्छ ।
साबित्री प्याकुरेल, धादिङ।
३२ )
मुक्तक
तिम्रो मेरो प्रेमको चल्न नदेऊ प्यारू हुरी
हामीलाई छुटाउन नभए, गर्नेछन् उजुरी
रुप-धन-उमेरभन्दा आफ्नो मान्छे प्यारो,
तिमी भएपछि कसैले चलाउने छैनन् छुरी ।
राजेश एम घायल
झापा
३३ )
मुक्तक
मलाई जीवनको सबैभन्दा सुनौलो ज्ञान दिने गुरु
मेरो हरेक पहिचान र सफलतामा स्थान दिने गुरु
जन्मदाता र गुरुहरूको योगदान छ मेरो अस्तित्वमा,
टाढै भए पनि आशीर्वादसँगै चेलाको ध्यान दिने गुरु ।
विनोद कुमार शाही ‘लभडोन ‘
दैलेख चामुण्डा।
३४ )
मुक्तक
जिन्दगीमा कसैबाट निस्वार्थ प्यार पाउन सकिनँ
कसैको हृदयको कुनामा उज्यालो छाउन सकिनँ
लाग्छ अन्जानमै माया मात्र गरिरहेँ कि यहाँ मैले,
प्यार बसेको मान्छेसँग कर्तव्य निभाउन सकिनँ !
✍🏻अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ।
३५ )
मुक्तक
ओठमा मुस्कान लिएर जाऊ प्रिय
सबैलाई खुसी दिएर जाऊ प्रिय
भोलि के हुने कसलाई छ र थाहा ?
नराम्रा कुरालाई सिएर जाऊ प्रिय ।
सुनिता निरौला पौडेल
राधे राधे भक्तपुर।
३६ )
मुक्तक
अन्धकारलाई चिरेर दियो गुरुले ज्ञान
सधैँ अध्यान नै गरेर हुनु देशको सान
ज्ञान मूलक प्रचारप्रसारका सन्देशहरू,
गुरुलाई शिर निउरेर आधार गर्न जान ।
बिबा तामाङ दार्जलिङ।
३७ )
मुक्तक
नखाऊ कसैले पराईकाे माना
भत्किजाला आफ्नाे घरकाे छाना
हाम्रै राेधीमा निर्भर भई गीत गाउँ,
आफैँ पाैरख गरेर खानुपर्छ दाना । - हरिगाेपाल न्हुच्छेँप्रधान साँगा बजार बनेपा -१४ काभ्रेपलाञ्चाेक ।
३८ )
मुक्तक
मायामा बिग्रेको हिसाब अब मिलाउनुपर्छ साथी
मुटु उसै उध्रिएको छ हाम्रो अब सिलाउनुपर्छ साथी
दुई मुटुको एउटै धड्कन हामी दुईको बनाउनु छ,
बिसन्चो यो मनलाई प्रेमरूपी अमृत पिलाउनुपर्छ साथी । ओम घिमिरे
३९ )
मुक्तक
हिजोआज हरेक काममा स्वार्थको गन्ध भेटिन्छ
आफैँ अगाडि जाने नाममा स्वार्थको गन्ध भेटिन्छ
दूरी नजिक हुँदा पनि हुनथालेपछि मन टाढा,
एक्लै होस् या समूहको लाममा स्वार्थको गन्ध भेटिन्छ ।
✍️
विष्णु पंगेनी(पाण्डे )
वालिङ, स्याङ्जा
४० )
मुक्तक,,
आफ्नाहरूको वचनले पनि यति मन रेटिन्न के भएको छ
मसँग त किन बुझ्ने, बुझाउँने कोही भेटिन्न के भएको छ
धनबिनाको छोरा, रूपबिनाको छोरी बिकेन यो समाजमा,
अचेल शरीरभन्दा मनको थकान मेटिन्न के भएको छ ?
प्रेम रावत क्षेत्री
छेडागाड २ साल्मा जाजरकोट !
४१ )
मुक्तक
जसरी हजार रुपैयाँसँग सयको तुलना हुँदैन
त्यसरी नै माया, प्रेमसँग भयको तुलना हुँदैन
काम गर्ने र नगर्नेबीच सहकार्य भयो भनेदेखि,
तिनका कामको गति र लयको तुलना हुँदैन ।
बाबुराम पाण्डे
अर्घाखाँची
४२ )
मुक्तक
बिलाए ती अन्तरागका स्वर्णिम रङ अब दृश्य छाउने छैन
अतीतको स्मृतिमा बल्झिएको व्यथा कसैले हटाउने छैन
मरुभूमि बन्यो अस्तित्व निरन्तर मरिचिकाको सत्य खोज्दै,
अतृप्त हृदयलाई सलिलको प्रवाहले कसैले रिझाउने छैन ।
- सलिन विष्ट
बनेपा -१२, काभ्रे


