![]()
हिरा बुढा मगर ‘अमृत’ का तीनवटा मुक्तक
✍️ हिरा बुढा मगर ‘अमृत’
शारदा नगरपालिका–१४, सल्यान
आज अनायास आँखाबाट आँसु झरेको छ
निष्ठुरीले बिनाकारण छुट्ने निधो गरेको छ
गन्तव्य फरक हुनु कुन ठूलो कुरा भयो र यहाँ,
जुनीभर सँगै जिउने–मर्ने विश्वास त मरेको छ।
सम्बन्ध भनेको नङ र मासु जस्तो हुनुपर्छ,
जो कि छुट्टिँदा पीडा सहन नसकी रुनुपर्छ।
आफ्नै वचनले त चोट दिन्छ बेलाबेला यहाँ ,
पराईको तिखो वचनले मन–मुटुनै छुनुपर्छ।
माया काँचको सिसाझैँ फुटाउनेले बुझ्न सकेन मलाई,
यहाँ झुटै झुटको खेती गर्दै रुवाउनेले बुझ्न सकेन मलाई,
तिखो काँडारूपी वचनले मन पत्थर भएछ क्यारे आज,
त्यो फूल अक्करे भिरमै फुलाउनेले बुझ्न सकेन मलाई।


