Sabda Prabaha

Loading

त्रिवेणी साहित्य मञ्च अमेरिकाको अभ्यास समूहमा प्रेषित झिल्का कविताहरू (मिति- २०८३/०४/२२)

क)
दिलमा हानेर छुरा
गयौ दूर तिमी
स्वार्थीको के कुरा !
ख)
बाँच्दिनँ भन्थ्यौ पहिले
भयौ टाढा मबाट
सम्झिनै छाड्यौ अहिले ।
✍️
वसन्त अनुभव

वसन्तविहार

क)
बोकेर चिसो मन
हिँड्दैछन् अनेकन् यात्री
कमाउन कालो धन ।
ख)
पढिकन पुरै मुनामदन
लेखौँ प्रेमको कथा
मिलाई शैली आफ्नोपन !
✍️
नारदप्रसाद आचार्य ‘सुदामा’

संयुक्त राज्य अमेरिका

क)
बोकेर सत्यकाे विचार
बदलिँदैछ समाज हाम्रो
फैलाएर मीठो प्यार ।
ख)
पढेर असल ज्ञान
खुलाए मार्ग जीवनकाे
बन्छ उज्यालो पहिचान ।
✍️
डि पी शर्मा खनाल

दैलेख

श्रावण बनी आउनू
मेरो मनको संसारमा
उज्यालो भई छाउनू ।
✍️
अम्बिका राणा

खरसाङ

क)
फूल झरेको नहेरौँ
हेरौँ मालीको मेहनत
व्यर्थै मन नफेरौँ ।
ख)
मानमर्दन अविवेकी निर्णयले
हुन्छ हरदम हामीमा
जलन आत्ना पश्चात्तापले ।
✍️

राजेन्द्र जि.सी.

क)
खुला संसारमा बसेर
चलाउँछ दिमाग सानो
नकाब खरानी घसेर ।
ख)
खुसी अनुहारमा बोक्छ
अहम्ता अधिक पहुँचको
देखाउन चरित्रले रोक्छ ।
✍️

विकल ‘आर्त्त’

क)
मनको पीडा बुझेनौ
मेरो नुनिलो पानीले
तिमी कहिल्यै रुझेनौ l
ख)
भाग्यमै रहेछ साउन
सकेनौ मेरो आँसुमा
बिराम चिन्ह लगाउन l
✍️
बाबुराम गौतम

गुल्मी

क)
फालेर मनको मैलो
सफा राखौँ सधैँ
मन्दिरको त्यो दैलो ।
ख)
राख्नुहुन्न मनमा पाप
निष्पक्ष हुनुपर्छ सधैँ
अदालती न्याय निसाफ ।
✍️
साबित्री प्याकुरेल

धादिङ

क)
बालेर आगोको राप
सदैव अगाडि बढ्नू
लिएर मनमा ताप ।
ख)
बारीमा रोप्नू बाली
राम्ररी खनजोत गरेर
ताछ्दै कुना आली।
✍️
बिबा तामाङ

दार्जिलिङ

क)
तिम्रो विश्वास टुट्दा
रोयो मेरो मन
फेरि सम्बन्ध छुट्दा।
ख)
तिम्रा आँखा रसाउँदा
मेरो मुटु पोल्यो
साथ दिन नपाउँदा ।
✍️
सतीश पण्डित

भानु६ चुँदी तनहुँ।

क)
कसले कति कमाए
थाहा भएन कति ?
बेचेर पसिना रमाए ।
ख)
कुविचारहरू अन्त्य गरौँ
सत्य जोगाउनका लागि
एकताको सन्देश भरौँ ।
✍️
क्षितिज बिरु राना

वनगाड कुपिण्डे नगरपालिका ३ बडापोखरा सल्यान।

क)
मन टाल्न गाह्रो
गरौँ मनको नियन्त्रण
चञ्चल नबनाई साह्रो ।
ख)
नराखौँ मनमा खोट
जित हुन्छ सत्यको
दुष्टलाई मिल्छ चोट ।
✍️
कार्की डिबी माकुम

सुनवल नवलपरासी

क)
सद्भावको घोडा चढी
नेपाली सबै मिलेर
जानुपर्छ अघि बढी ।
ख)
सम्प्रदाय धर्म भनी
झगडा विवाद नगरौँ
बसौँ सभ्य बनी ।
✍️
रामकृष्ण ढकाल

चितवन

क)
पवित्र बनाउँदै मन
आफैँले परिश्रम गरी
जिउन कमाऔँ धन ।
ख)
सत्यकाे बाटो हिँड्नू
दुश्मनी यत्तिकै गरेर
कसैको मन नगिँड्नू ।
✍️
राज कुमार राजभण्डारी खाेटाङ्गे

खाेटाङ ऐसेलुखर्क ३ हाल भक्तपुर

क)
लेखिएका जीवनका कथा
खोतल्दै गर्दा विगत
बल्झिन्छन् भित्री व्यथा ।
ख)
रङ उडेको देह
आशाभित्र छ निराशा
बीभत्स देख्छु गेह ।
✍️
तोयानाथ चापागाईं

दमक,झापा,नेपाल

क)
मानेर यत्तिकै दिक्दार
नछाड्नुहोस् कर्म गर्नलाई
पाइन्छ एकदिन रोजगार ।
ख)
गर्नुहोस् नेपालको राजनीति
स्वार्थबाट टाढा रहेर
बुझेर जनताको परिस्थिति ।
✍️
लक्ष्मी रेग्मी ‘शब्दयात्री’

उर्लाबारी, मोरङ

क)
गरौँ मेहनत आज
सफलता मिल्नेछ पक्कै
यही समाज माज ।
ख)
फुल्यो ढकमक्क फूल
सुगन्ध छायो जताततै
फुटाई प्रकृतिको मूल ।
✍️
ध्रुव खड्का

फेदीखोला १, स्याङ्जा

क)
सहेर अनेकौँ चोट
आखिर भेटाएँ साथी
जीवनमा दिने ओट ।
ख)
जीवनमा बालेको दियो
निभायो हुरी आई
समयले हिसाब लियो ।
✍️
मिना मल्ल

बझाङ

क)
सर्दी लागेको बेला
पिऊँ मन्दतातो पानी
नहोस् रोगको रेला ।
ख)
प्रशस्त रुपैयाँ कमाएँ
गरेर मेहनत मजदुरी
आमाको हातमा थमाएँ ।
✍️
विद्युत गुरुङ

गोरुबथान

क)
अक्षरको खेती गरौँ
साहित्यलाई माया गर्दै
कविताले पाना भरौँ ।
ख)
देशमा खुसी आओस्
हटून् जुलुस नारा
सर्वत्र शान्ति छाओस् ।
✍️
प्रेम शर्मा “एकान्त प्रेमी”

कालेबुङ भारत

क)
छोरा विदेश गयो
वृद्ध बाआमा छोडी
घरमा बेहाल भयो ।
ख)
श्रीमतीको भाग्य कस्तो�
एउटा श्रीमानको यात्रा
मसानघाट नै भएजस्तो।
✍️
रिमेन आलोक

अष्ट्रेलिया

क)
सोचभित्र नयाँ चेतना
विचारको सानो झिल्काले
रोप्ने गर्दछ सृजना ।
ख)
मौलिकता नै मेरो
सच्चा सम्पत्ति बनोस्
छोपेर ती चौघेरो ।
✍️
कृष्ण ब रावत

जाजरकोट

क)
आएन भनेर नरुनू
पहिरोले बाटो रोक्यो
उदास पनि नहुनू।
ख)
अलि पछि आउँला
परिवार सबै मिलेर
कतै घुम्न जाउँला ।
✍️
अरुण कुमार भुजेल

गोरूबथान,कालेबुङ

क)
छुट्टै छ सान
विश्वलाई चिनाउँदा आहा
हाम्रो यो पहिचान ।
ख)
गुरुको सम्मान गरिन्छ
आफू त कृतज्ञता
ज्ञापन गर्नेमा परिन्छ ।
✍️
कला ढकाल

झापा

क)
शारीरिक व्यायाम गर्नू
स्फूर्ति आउँछ शरीरमा
औषधीको भर नपर्नू ।
ख)
अल्छी गर्नु हुँदैन
नियमित व्यायाम गरे
कुनै रोगले छुँदैन ।
✍️
शोभाकान्त रेग्मी

स्याङ्जा

क)
सकेजति सम्बन्ध टालेँ
चित्त नदुखोस् भनी
नराम्रो थुप्रोलाई फालेँ ।
ख)
सूर्य भए पुग्छ
चाहिन्न तारा यहाँ
अँध्यारो सधैँ नुग्छ ।
✍️
सुनिता निरौला पौडेल

राधे राधे भक्तपुर

क)
आहा! झिल्के मजुर
अलि नजिक आइदेऊ
मेरा प्यारा हजुर !
ख)
पीपलको शीतल छायाले
मलाई बिगार्‍यो हजुर
उनको लोभी मायाले ।
✍️

आर के भण्डारी

क)
‎खेल समयको थियो
‎सँगै बाँच्ने, मर्ने
‎मायाले धोका दियो ।
‎ख)
‎हाँसेर जीवन बिताउनुपर्ने
‎सबैका लागि यहाँ
‎आफन्तले भलो चिताउनुपर्ने ।
‎✍️
हिरा बुढा मगर ‘अमृत’

‎शारदा नगरपालिका–१४, सल्यान

क)
गुलियाे चाट्ने नगराैँ
पछि तीताे नपच्ला
झुटको पछि नसरौँ ।
ख)
जिन्दगी हाम्राे छाेटाे
हावामा नफालाैँ कसैले
पारेर यसै खोटो ।
✍️
हरिगाेपाल न्हुच्छेँप्रधान

साँगा बनेपा – १४ काभ्रे

क)
बर्खे झरीको भेल
जाम छ बाटोघाटो
हेर प्रकृतिको खेल ।
ख)
बाटोघाटो राम्रो छैन
आउजाउ गर्न गाह्रो
उड्यो मनको चैन ।
✍️
रमा गुरुङ्ग

सालुगडा सिलीगुडी

क)
निस्वार्थ आमाको मायामा
चल्छ परिवारको जिन्दगी
निर्धक्क बाबाको छायामा ।
ख)
मायाले भरिएको घरसंसार
दुःखकष्ट हमेसा आइपर्दा
सहजै हुन्छ पार ।
✍️
नम्रत प्रधान
तकदाह, दार्जिलिङ

क)

आज तिम्रै कारणले
भएँ जिउँदो लास ।
ख)
बेरोजगारी झोला बोकेर
थिएँ परदेश हिँडेको
आँखाका आँसु रोकेर ।
✍️
पुरुषोत्तम फुयाल

सुन्दरहरैँचा न.पा.-२, मोरङ

क)
सफा रहेछ मन
दुनियाँलाई माया दियौ
नभए पनि धन ।
ख)
मनको कुरा खोल
होइन अरूका लागि
आफ्नो हितमा बोल ।
✍️
निमा छिरिङ भोटिया

जलढाका कालेबुङ भारत

क)
जोगाउँदै नेपाली सान
विश्वको सामु चिनाऔँ
हाम्रो मौलिक पहिचान ।
ख)
मान्छे सफल हुन्छ
निरन्तर मेहनत गरेमा
सबैको मन छुन्छ ।
✍️
राजेश भण्डारी

रुरुक्षेत्र ५ गुल्मी

भर्खरै

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top