![]()
लघुकथा : परदेशको आकाश
✍️डि पी शर्मा खनाल,दैलेख
रवि तीन वर्षदेखि परदेशमा थियो।
दिनभरि कामको चाप, रातभरि घरको सम्झना, यही उसको दैनिकी बनेको थियो।
एकदिन साँझ भिडियो कलमा श्रीमती माया र बूढी आमासँगै देखिए। आमाले मुस्कुराउँदै भनिन्, “बाबु, तिमीले पठाएको पैसाले घर त बनेको छ… तर आँगन अझै खाली लाग्छ।”
मायाले कुरा थपिन्,
“छोरीले आज फेरि सोधी—‘बाबा मोबाइलभित्र मात्रै बस्नुहुन्छ ?”
रविको स्वास एकपटक त राेकिए जस्तै भयो।
उसले हाँस्न खोज्यो, तर आँखाभरि आँसु भरिए।
कोठाको झ्यालबाट उसले विदेशी शहरको चम्किलो आकाश हेर्यो। त्यो आकाश उज्यालो थियो, तर उसको मनमा भने गाउँको पुरानो घर, आमाको आवाज र मायाको साथ नै झल्किरहेको थियो।
त्यही राति उसले महसुस गर्यो—
परदेशको आकाश जति ठूलो, समृद्ध भएपनि,
जननी र जन्मभूमि भन्दा ठूलो र न्यानो कहिल्यै पनि कहीँ हुँदैन भनेर…।


