Sabda Prabaha

Loading

एउटा लेख

✍️ नबिन कुमार रोकाया

भोट

गाउँको चौतारो फेरि मानिसहरूको भीडले भरिएको थियो। चुनाव नजिकिँदै जाँदा हावामा आश्वासनका रंगीन शब्दहरू उडिरहेका थिए। पाँच वर्षसम्म गाउँको बाटो बिर्सिएका अनुहारहरू फेरि घर घर पुग्न थालेका थिए। कसैले मुस्कान बोकेका थिए, कसैले झुटा सपना। कसैले विकासका ठूल्ठूला नक्सा देखाइरहेका थिए भने कसैले जनताको दुःखलाई भाषणको विषय बनाइरहेका थिए। तर गाउँका गरिब मानिसहरूलाई थाहा थियो। चुनाव सकिएपछि यी सबै शब्दहरू हावामा बिलाएर जानेछन्।

यही गाउँमा बस्थे वृद्ध हरिप्रसाद। उनको अनुहारका गहिरा चाउरीहरूमा समयले कोरेका अनगिन्ती कथा लुकेका थिए। उनले धेरै चुनाव देखेका थिए। धेरै झण्डा फेरिएको देखेका थिए। धेरै नेता बदलिएको देखेका थिए। तर नबद्लिएको एउटा कुरा थियो जनताको अवस्था। गाउँको धुलाम्मे बाटो उस्तै थियो। विद्यालयका भित्ताहरू उस्तै चिरिएका थिए। स्वास्थ्य चौकीमा औषधि अझै अभावमै थियो र युवाहरूको सपना अझै वैदेशिक विमानस्थलको भीडमा हराइरहेको थियो।

चुनाव आउँदा नेताहरूको व्यवहार भने एकाएक बदलिन्थ्यो। उनीहरू गरिबको घरमा बसेर खाना खान्थे। वृद्धको हात समाउँदै सम्मानका शब्द बोल्थे। किसानको खेतमा फोटो खिच्थे, बालबालिकालाई कापी बाँड्थे। उनीहरूको प्रत्येक मुस्कानमा मतको गणित लुकेको हुन्थ्यो। चुनाव सकिएपछि न ती मुस्कान बाँकी रहन्थे न ती वाचा। गाउँ फेरि आफ्नो पुरानै नियतिमा फर्किन्थ्यो।

हरिप्रसादका छोरा बेरोजगार थिए। घरमा ऋण थियो। छोरीको पढाइ रोकिएको थियो। श्रीमती बिरामी थिइन्। यस्तै कठिन समयमा एक साँझ केही कार्यकर्ता घरमा आए। उनीहरूले सम्मानका शब्द बोले, चियाको कप समाते अनि टेबुलमा पैसाको बाक्लो बिटो राखिदिए। “यो सहयोग हो” उनीहरूले भने “हामीलाई तपाईंको परिवारको भोट मात्र चाहिएको हो।”

घरभित्र केही क्षण मौनता छायो। पैसाले अभावको आँखा चम्काइरहेको थियो। छोराले बुबातिर हेर्दै बिस्तारै भन्यो “बुबा, यो पैसा लिऔँ। घरको समस्या केही त समाधान हुन्छ। आखिर एउटा भोटले के फरक पर्छ र?”

हरिप्रसादले पैसालाई होइन छोराको आँखालाई हेरे। त्यस आँखामा गरिबी थियो, बाध्यता थियो तर विवेक अझै मरेको थिएन। उनले गहिरो सास फेर्दै भने “छोरा, गरिबीले पेट खाली बनाउँछ तर विवेक बेच्न सिकाउँदैन। भोट भनेको कागजको एउटा छाप होइन। यो हाम्रो भविष्यको हस्ताक्षर हो। जसले आफ्नो भविष्य पैसामा बेच्दछ, उसले आफ्ना सन्तानको सपना पनि सँगै बेचिरहेको हुन्छ।”

मतदानको दिन आयो। मतदान केन्द्रमा लामो लाइन थियो। कसैको अनुहारमा उत्साह थियो। कसैको अनुहारमा लोभ। हरिप्रसाद बिस्तारै मतदान केन्द्रभित्र प्रवेश गरे। मतपत्र हातमा लिए। उनले कुनै दलको चिन्ह मात्र हेरेनन्। उनले आफ्नो देशको भविष्य हेरे। अनि आफ्नो विवेकले देखाएको ठाउँमा छाप लगाए। मतपेटिकामा मत खसाल्ने त्यो क्षण उनलाई कुनै पूजा गरेजत्तिकै पवित्र लाग्यो।

परिणाम आयो। पैसा बाँड्ने उम्मेदवार नै विजयी भए। गाउँमा केही दिन उत्सव मनाइयो। तर समय बित्दै जाँदा पुरानै कथा दोहोरियो। विकासका योजना कागजमै सीमित भए। भ्रष्टाचारका समाचार बढे, युवाहरू रोजगारी खोज्दै विदेशिए, किसान ऋणमै डुबिरहे। जनताले फेरि गुनासो गरे तर उनीहरूले बिर्सिसकेका थिए। गुनासो गर्ने अधिकारभन्दा पहिले सही निर्णय गर्ने जिम्मेवारी उनीहरूमै थियो।

एक दिन हरिप्रसाद आफ्ना नातिलाई लिएर गाउँको चौतारोमा बसेका थिए। नातिले सोध्यो “हजुरबा, एउटा भोटको यति धेरै मूल्य किन हुन्छ?” हरिप्रसाद मुस्कुराए। उनले आकाशतिर हेर्दै भने “एउटा सानो बीउले विशाल रुख जन्माउँछ, एउटा थोपा विषले पूरा कुवाको पानी बिगार्छ र एउटा सही भोटले पुस्तौँको भविष्य उज्यालो बनाउन सक्छ। त्यसैले भोट कहिल्यै बेच्नु हुँदैन किनकि पैसाले केही दिनको आवश्यकता पूरा गर्छ तर विवेकले जीवनभरको भविष्य बनाउँछ।”

त्यो दिन नातिले कुनै पुस्तकबाट होइन, जीवनबाट लोकतन्त्रको सबैभन्दा ठूलो पाठ सिक्यो।

भोट केवल अधिकार होइन, उत्तरदायित्व पनि हो। मतपेटिकामा खसालिएको एउटा छापले नेता मात्र छान्दैन, त्यसले राष्ट्रको दिशा, समाजको भविष्य र आउने पुस्ताको भाग्य पनि निर्धारण गर्छ। त्यसैले भोट दिनुअघि औँलाभन्दा पहिले विवेक चल्नुपर्छ, किनकि विवेकले दिएको निर्णयले नै इतिहास लेख्छ।

भर्खरै

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top